फेस्बुक, युट्युबसहित अनुमतिबिना सञ्चालन भइरहेका २६ सामाजिक सञ्जाल तत्काल बन्द गर्ने नेपाल सरकारको निर्णय

गान्तोक, ४ सेप्टेम्बर: नेपाल सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल तत्कालै बन्द गर्ने निर्णय गरेको छ। नेपालको सर्वोच्च अदालतले दिएको परमादेश र मन्त्रिपरिषद्को अघिल्लो निर्णय कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार औपचारिक निर्णय लिएको हो।

मन्त्रालयकाअनुसार, आजदेखि नै नेपाल दूरसञ्चार प्राधिकरणमार्फत सम्बन्धित सञ्जालहरू बन्द गरिनेछ। बिहीबार मन्त्रालयमा बसेको बैठकले सर्वोच्चको आदेशअनुसार बिना अनुमति सञ्चालन भइरहेका सामाजिक सञ्जाल र ओटीटी एप्स रोक्नुपर्ने निष्कर्ष निकालेको बताइएको छ।

नेपालका केही सञ्चारमाध्यमअनुसार, नेपालमा दर्ता गर्ने प्रक्रिया अघि बढाएपछि ती सञ्जाललाई क्रमशः पुनः खोल्ने निर्णय पनि गरिएको छ। सर्वोच्च अदालतले बुधबार मात्र, न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासमार्फत, अनुमति नलिएका विदेशी डिजिटल प्लेटफर्म र विज्ञापनसहितका इन्टरनेट सामग्रीमाथि नियन्त्रण गर्न सरकारलाई परमादेश जारी गरेको थियो।

अदालतको आदेशअनुसार, कुनै पनि विदेशी प्रसारण संस्था वा डिजिटल कार्यक्रम उत्पादकले नेपालमा आफ्नो सामग्री उपलब्ध गराउन चाहने भए सम्बन्धित निकायबाट अनुमति लिनुपर्नेछ। यसअघि नै सरकारले प्रसारण नियमावलीमार्फत यस्तो अनुमति अनिवार्य गर्ने प्रावधान बनाइसकेको थियो।

उक्त मुद्दामा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विज्ञापन बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको थियो। अदालतको आदेशपछि मन्त्रालयले तत्काल कारबाही स्वरूप फेसबुकदेखि युट्युबसम्मका लोकप्रिय सञ्जालसहित २६ प्लेटफर्म बन्द गर्ने निर्णय गरेको हो।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *