गान्तोक, ८ जनवरी: सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चाको १४औँ स्थापना दिवस नजिकिँदै गर्दा मानिसहरू विभिन्न पार्टी परित्याग गरी सत्तारूढ दलमा सामेल हुने क्रम जारी रहेको छ। यसै क्रममा आज पोक्लोक-कामराङ निर्वाचन क्षेत्रअन्तर्गत पाबोङ वार्ड अनि आसाङथाङ जीपीयूको दुमिगाउँ वार्डबाट ५२ भन्दा बढी एसडीएफ समर्थकहरू एसकेएम सामेल भएका छन्।
पार्टीमा सामेल भएका सदस्यहरूलाई पोक्लोक-कामराङ निर्वाचन क्षेत्रका विधायक तथा मन्त्री भोजराज राईले स्वागत जनाएका छन्। पार्टीप्रति विश्वास व्यक्त गर्दै नयाँ सदस्यहरूले एसकेएमको नीति, सिद्धान्त तथा नेतृत्वबाट प्रभावित भई पार्टीमा सामेल भएको बताएका छन्।
केही दिनअघि मात्रै मुख्यमन्त्री एवम् एसकेएम अध्यक्ष प्रेमसिंह तामाङले एउटा सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै विपक्षी दलका नेता एवम् कार्यकर्ताहरूलाई एकसेएममा सामेल हुन आह्वान गर्दै सम्बोधन गरेका थिए। उनले एसकेएमको १४औँ स्थापना दिवसमा पार्टीमा सामेल हुन चाहनेहरूको सूची लामै रहेको पनि बताएका थिए।