हेडलाइन

मंगनमा जिल्ला निर्वाचन अधिकृतद्वारा राजनीतिक दलका प्रतिनिधिसँग मासिक समन्वय बैठक

मंगन, ८ जनवरी: भारतको निर्वाचन आयोगको निर्देशनअनुसार मंगन जिल्लामा मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधिहरूसँग मासिक समन्वय बैठक आज जिल्लापाल तथा जिल्ला निर्वाचन अधिकृतको कार्यकक्षमा सम्पन्न भयो। बैठकको उद्देश्य निर्वाचन प्रक्रियासम्बन्धी महत्वपूर्ण विषयमा छलफल गर्दै राजनीतिक पक्षहरूसँग समन्वयलाई थप सुदृढ गर्नु रहेको थियो।

बैठकको अध्यक्षता जिल्लापाल तथा जिल्ला निर्वाचन अधिकृत अनन्त जैनले गरेका थिए। उनले विशेष गहन संशोधन (Special Intensive Revision) अन्तर्गत हाल सञ्चालनमा रहेका तथा आगामी गतिविधिबारे जानकारी दिँदै मतदाता सूची म्यापिङ, योग्य मतदाताको समावेशीकरण तथा प्रमाणीकरण प्रक्रियामा विशेष जोड दिए। मतदाता सूची पारदर्शी, शुद्ध र पूर्ण बनाउन राजनीतिक दलहरूको सक्रिय सहयोग अपरिहार्य रहेको उनले स्पष्ट पारे।

जिल्लापाल जैनले राजनीतिक दलका प्रतिनिधिहरूलाई मतदाता पुनरावलोकन प्रक्रियाबारे जनचेतना फैलाउन सक्रिय भूमिका खेल्न तथा कुनै पनि त्रुटि, गुनासो वा सुझाव भए तोकिएका माध्यममार्फत समयमै जानकारी गराउन आग्रह पनि गरे।

बैठकमा मंगन जिल्ला (निर्वाचन) का संयुक्त सचिव कर्मा शेर्पा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *