गान्तोक, ९ जनवरी: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बिहीबार नेपालस्थित देवी भगवतीलाई समर्पित पवित्र मनकामना मन्दिरको दर्शन गर्दै राज्य, देश तथा जनताको सुख-समृद्धिका लागि प्रार्थना गरेका छन्। पहाडको शिखरमा अवस्थित यो मन्दिरले आध्यात्मिक शान्ति प्रदान गर्नुका साथै मनलाई शान्त, आनन्दित र सकारात्मक अनुभूति गराउने वातावरण दिएको उनले बताएका छन्।
दर्शनका क्रममा मुख्यमन्त्री तामाङले गरिब, बिरामी तथा विपन्न वर्गको उत्थान, राज्यको समग्र विकास, शान्ति र प्रगतिका लागि कामना गरेका छन्। ‘वसुधैव कुटुम्बकम्’ अर्थात् सम्पूर्ण विश्व एक परिवार हो भन्ने दर्शनलाई आत्मसात् गर्दै उनले विश्व शान्ति, सद्भाव र मानव कल्याणका लागि पनि प्रार्थना गरेको बताइएको छ।
यस पवित्र यात्राका क्रममा सहयोग र सहकार्य प्रदान गर्ने सबैप्रति मुख्यमन्त्रीले कृतज्ञता व्यक्त गर्दै, उनीहरूको सहयोग र समर्पणका कारण दर्शन सम्भव भएको उल्लेख गरेेका छन्।