नाथाङ, ११ जनवरी: भारत–चीन सीमावर्ती क्षेत्रमा अवस्थित नाथाङ गाउँमा वाइब्रेन्ट भिलेज कार्यक्रमअन्तर्गत चाँडै आइस हकी खेल सुरु गरिने भएको छ। समुद्री सतहबाट १३,७०० फिटभन्दा बढी उचाइमा अवस्थित यस उच्च पहाडी गाउँमा खेलका लागि आवश्यक तयारी कार्य सुरु भइसकेको छ।
आइस हकीसँगै नाथाङमा साइकलिङ, रक क्लाइम्बिङ तथा अन्य साहसिक खेल गतिविधिहरू पनि सञ्चालनमा ल्याइएको छ। यी पहलहरूको उद्देश्य साहसिक तथा शीतकालीन पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय युवाहरूका लागि नयाँ अवसर सिर्जना गर्नु र नाथाङलाई उच्च उचाइको विशिष्ट खेल तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्नु हो।
गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेले हालै नाथाङको भ्रमण गरी नयाँ खेल तथा साहसिक गतिविधीसँग सम्बन्धित तयारी र पूर्वाधारको समीक्षा गरेका छन्।
स्थानीय बासिन्दा थुप्देन भोटियाले सञ्चारकर्मीसँग कुरा गर्दै यस पहलको स्वागत गर्दै यसले दिगो पर्यटन र रोजगारीका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्। यसका साथै, सीमावर्ती गाउँको रणनीतिक तथा प्राकृतिक महत्व उजागर गर्न सहयोग पुग्ने पनि बताइएको छ।