मुख्यमन्त्रीले गरे पाकिम जिल्लाका ४४७ बाढी पीडितलाई भाडा सहयोग प्रदान

पाकिम, ५ फरवरी: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज एसएमआईटी माझीटारमा ‘मुख्यमन्त्री राहत कोष’ मार्फत आवश्यक सामग्री र आर्थिक सहायता वितरण गरे। पाकिम जिल्लाको टिस्टा बाढी प्रभावित जनतालाई सहयोग र सहायता प्रदान गर्न यो कार्य गरिएको हो। यस पहलमा ४४७ बाढीपीडितलाई कूल ६७.०५ लाख भाडा सहयोग प्रदान गरियो। यसबाहेक, २९९ विद्यार्थीले २९.९ लाख रुपियाँ आर्थिक सहायता पाएका छन् भने यसअघि छाडेका ८२ परिवारलाई कुल १६.४ लाख रुपियाँ राहत सहयोग प्रदान गरिएको छ। यसका साथै पाकिम, नाम्ची, सोरेङ र गेजिङ जिल्लाका ३ सय ८५ विद्यार्थीलाई मुख्यमन्त्री विवेक अनुदान अन्तर्गत २ करोड १ लाख रुपियाँको प्रतिष्ठित मुख्यमन्त्री छात्रवृत्ति प्रदान गरिएको छ। साथै, १ हजार १०१ परिवारलाई भौतिक सुविधा प्रदान गरिएको छ भने ४१० परिवारले आफ्नो दैनिक आवश्यकता पूरा गर्न एलपीजी जडान प्राप्त गरे।

आफ्नो सम्बोधनमा मुख्यमन्त्री तामाङले टिस्टा नदीको क्षेत्रमा आएको बाढीपीडितलाई सहयोग गर्न सरकार र यसका विभागहरूले गरेको द्रुत कार्यमाथि प्रकाश पारे। राहत शिविरहरू कुनै भेदभावबिना तुरुन्तै स्थापना गरियो, र खाँचोमा परेका स्कूलका बालबालिकाहरूलाई आपतकालीन सहायता कोष पनि प्रदान गरियो। मुख्यमन्त्रीले मन्त्रिपरिषबाट स्वीकृत भइसकेको पुनर्वावास योजना विधेयकको विवरण पनि साझा गरे। यो विधेयकले बाढीबाट पूर्णरुपमा क्षति भएका व्यक्तिका लागि नयाँ घर निर्माण गर्ने लक्ष्य राखेको छ। त्यसैगरी टिस्टा बाढीबाट प्रभावित र पहिले भाडामा बसेकाहरूका लागि जनता आवास कोलोनीको विकास गरिनेछ। यी व्यक्तिहरूले तीन वर्षसम्म फ्ल्याटहरूमा भाडा बिना बस्ने अवसर पाउनेछन्, त्यसपछि उनीहरूले भाडाको रूपमा नाममात्र रकम तिर्नुपर्नेछ । यसबाहेक, मुख्यमन्त्रीले घोषणा गरे कि १३०,००० बीपीएल परिवारहरूले चाँडै मुख्यमन्त्री चिकित्सा सहायता योजना मार्फत स्वास्थ्य बीमामा पहुँच पाउनेछन्, उनीहरूलाई चिकित्सा खर्चको लागि ३० लाखसम्म दाबी गर्न सक्षम पारिने छ। मुख्यमन्त्रीले नागरिक र सरकारी कर्मचारी दुवैलाई आफ्नो हितका लागि स्वास्थ्य बीमा नीति लिन आग्रह पनि गरे। पाकिम जिल्लापाल टाशी छोपेलले आफ्नो प्रस्तुतिको क्रममा मुख्यमन्त्रीलाई उनको अनुकरणीय नेतृत्व र चुनौतीपूर्ण समयमा पहुँचयोग्यताको लागि कृतज्ञता व्यक्त गरे। उनले टिस्टा बाढीको विस्तृत सारांश प्रस्तुत गरे।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *