सिङ्ताम, ६ फेब्रुअरी: केन्द्र सरकारले सीमाङ्कन गरेर राज्य सरकारलाई सीट आरक्षण गर्नु नभनेसम्म राज्य सरकारले लिम्बू – तामाङ सीट आरक्षण गराउन नसक्ने सिक्किमका एकमात्र लोकसभा सांसद इन्द्रहाङ सुब्बाले बताएका छन्। सिङ्ताम बजारमा लिम्बू भवन निर्माणकार्यको शिलान्यास कार्यक्रमको अवसरमा मिडियासँग कुराकानी गर्नेक्रममा सांसद सुब्बाले उक्त कुरा बताएका हुन्।
“लिम्बू-तामाङले सीट पाउनुपर्छ भन्ने हाम्रो पनि अडान हो। यो अडान २०१९ अगाडि पनि थियो र अहिले पनि छ। एउटा कुरामा चाहिँ स्पष्ट हुनुपर्छ कि यो राज्यको मात्रै नभएर केन्द्रको पनि विषय हो। जबसम्म केन्द्रले सीमाङ्कान गर्दैन र सीट छुट्याउनु भन्दैन, तबसम्म हाम्रो पनि केही लाग्दैन।” सांसद सुब्बाले भने।
सरकार बनेको दस दिनभित्र लिम्बू-तामाङ सीट आरक्षण गराउने भनेर एसकेएम पार्टीले कतै पनि नभनेेको उनले बताए। “यदि कसैले कुनै भाषणतिर भनेको हो भने त्यो अलग विषय हो, तर दस दिनभित्रमा सीट आरक्षण गराउने एकसेएम पार्टीकै अडान त मैले कतै देखिनँ।” उनले भने। वर्तमान सरकारले सीट आरक्षणका लागि इमानदार प्रयास गरिरहेको र भविष्यमा एसकेएम सरकारले नै सीट आरक्षण गराउने उनले बताएका छन्।
वर्तमान सरकारले लिम्बू समुदायको उत्थानका लागि विभिन्न पहलहरू गरिरहेको पनि सांसद सुब्बाले बताएका छन्। आधुरो रहेका माङखिङहरू पूर्णरूपमा निर्माण गरेर उद्घाटन भइरहेको, लिम्बू भवनहरू निर्माण भएको तथा लिम्बू भाषाका विकासका लागि पनि विभिन्न पहलहरू लिएको उनले बताएका छन्।