दिल्ली, ६ फरवरी सिक्किमकी एक युवतीलाई दिल्लीमा एक व्यक्तिले रडले हिर्काएर शरीरमा तातो दाल खन्याइदिएको जानकारी प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार अभियुक्त र पीडित दुवै सँगै बस्ने गरेका थिए। हाल प्रहरीले अभियुक्तलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ।
राष्ट्रिय सञ्चारमाध्यमहरूबाट थाहा लागेअनुसार आरोपीको नाम पारस हो। आरोपी पारसले पीडित युवतीलाई फेसबुकमा साथी बनाएर जागिरको बहानामा दिल्ली बोलाएका थिए भने दुवैजना दिल्लीको नेब सराईमा सँगै बस्न थालेका थिए।
पीडित युवतीले पारसलाई ३० जनवरीको दिन विवाहको कुरा गरेपछि युवकले आक्रोशित बन्दै पीडितलाई रडले प्रहार गरी तातो दाल हानेर रगतपच्छे बनाएको जानकारी प्राप्त भएको छ। युवकमाथि आरोप लगाउँदै पीडितले आफूलाई रडले प्रहार गरेपछि आरोपीले कोठाको ढोका बन्द गरेको बताएकी छन्। पछि प्रहरीले बालिकाको उद्धार गरेको जानकारी पाइएको छ।