लिम्बू – तामाङ सीट आरक्षणको माग अन्तिम चरणमा पुगेको मुख्यमन्त्री तामाङको भनाइ

सिङ्ताम, ६ फरवरी: लिम्बू र तामाङ समुदायलाई राज्य विधानसभामा जनजाति आसन आरक्षण दिनुपर्ने माग अन्तिममा पुगेको दावी गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले यी समुदायहरूलाई धैर्य राख्ने अपील गरेका छन्। मंगलबार सिङताममा लिम्बू भवन तथा माङ्हिमको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले यस्तो बयान दिएका हुन्। आफ्नो सरकारले बारम्बर केन्द्र सरकारसित एलटी सीटको माग गर्दै आएको र केन्द्र सरकार पनि सकरात्मक रहेको उनले बताए। यसै क्रममा यसै वर्षको जनवरी महिनामा पनि आफ्नो अगुवाइमा राज्य सरकारको एउटा शीर्ष प्रतिनिधि टोलीले भारत सरकारका गृहमन्त्री अमित शाहसित नयाँ दिल्लीमा भेट गरेको जुन भेटघाटमा मन्त्रीले पुनः एलटी सीट साथै छुटेका १२ जात गोष्ठीलाई जनजातिको मान्यताको मागमाथि सकारात्मक विचार राख्दै आफ्नो कार्यालयलाई तत्काल आवश्यक पहल गर्ने निर्देश दिएको पनि मुख्यमन्त्री तामाङले थप बताए।

अर्कोतिर पूर्वको एसडीएफ सरकारको कारण लिम्बू र तामाङ समुदायले आफ्नो संवैधानिक अधिकार पाउनमा ढिलाई भइरहेको पनि मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा बताए। उनको भनाइअनुसार वर्ष २००६-मा एलटी सीटको निम्ति तत्कालीन सरकारले पेनल्टी हान्ने अवसर पाएको थियो। त्यस समय डिलिमिटेशन कमिटीले राज्य सरकारलाई एलटी सीटको निम्ति फर्मूला मागेको तर सरकारले दिन नसक्दा आजसम्म यो समस्याको समाधान हुन नसकिरहेको मुख्यमन्त्री तामाङको भनाइ रहेको छ।

मंगलबार मुख्यमन्त्री तामाङले सिङताम बजार बीचमा प्रस्तावित लिम्बू भवन एवं माङहिमको विधिवत शिलान्यास गरे। यस पूर्वाधारको लागि जमीन सरकारले उपलब्ध गराएको हो भने करिब ४० करोडको प्रस्तावित भवनको निर्माण पनि सरकारले नै गरिदिने मुख्यमन्त्रीले घोषणा गरे। यसको लागि आगामी १२ फरवरीको दिन बस्ने अनुपुरक बजेटमा आवश्यक धरनाशिको आवण्टन गरिने पनि उनले थप बताए।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्रीले एसकेएम सरकारले बितेको पाँच वर्षमा लिम्बू समुदायको हितमा धेरै काम गरेको दावी गरे जसमा पश्चिम सिक्किमको ही गाउँमा पूर्व सरकारले निर्माण गरेको श्रीजङ्गाको प्रतिमा परिसरमा थप पूर्वाधार निर्माण, आसामलिङ्गजेमा माङहिम र सांस्कृतिक भवनको निर्माण, सोरेङको ओगेनमा माखिमको निर्माण, थर्पूमा लिम्बू सांस्कृतिक केन्द्रको जीर्णोद्धार, दरापमा युमा माङहिम निर्माणका लागि धनराशि आवण्टन, भर्खरै तुम्लाबुङ माङहिमको उद्घाटन, गान्तोक डीपीएच- मा लिम्बू भवनको जीर्णोद्धार, चिसोपानीमा माङहिमको निर्माणको घोषणा साथै चासोक तोङ्गनामलाई सरकारी विदा र पीएचडीसम्म लिम्बू भाषाको पठन पाठन आदि प्रमुख रहेको छ। यसको साथै आज नै मुख्यमन्त्री तामाङले उत्तर सिक्किमको माङसिलामा पनि लिम्बू भवन साथै अनुसूचित जाति भवन निर्माण गर्ने घोषणा पनि गरेका छन्।

कार्यक्रमलाई लोकसभा सांसद इन्द्रहाङ सुब्बाले पनि सम्बोधन गरेका थिए भने कार्यक्रम आयोजक सङ्गठन याक्थुङ तोजो सोजोङ्गबो, सिक्किमद्वारा मुख्यमन्त्री प्रेमसिंह तामाङ र भर्खरै पद्मश्री पुरस्कार प्राप्त गर्ने जोर्डन लेप्चालाई अभिनन्दन पनि जनायो।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *