रम्फूमा अस्थायी कर्मचारी भरोसा सम्मेलन सम्पन्न; चार वर्षमा अस्थायी कर्मचारीहरू स्थायी हुने अधिसूचना जारी

रम्फू, ९ फरवरी: राज्यमा अब चार वर्ष सेवाकाल पूरा गरेका सम्पूर्ण अस्थायी कर्मचारीहरू स्थायी हुनेछन्। यसको निम्ति राज्य सरकारले वर्ष २०२० को अस्थायी कर्मचारी स्थायीकरण नीतिमा संशोधन गरेको छ। गत ३ फरवरीको दिन नै बसेको मन्त्रीमण्डलको बैठकले मञ्जुरी प्रदान गरेको सशोधित अधिसूचनालाई शुक्रबार रम्फूमा विराट जनभेलाबीच मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट लोकार्पण गरियो।

 

यस अस्थायी कर्मचारी भरोसा सम्मेलनको अवसरमा मुख्यमन्त्रीले अस्थायी कर्मचारी स्थायीकरण अधिसूचनासँगै अन्य तीनवटा अधिसूचनाको पनि लोकार्पण गरेका छन्, जसमा जमीनदाताहरूलाई तीन वर्षमा स्थायी गरिने, दिव्याङ्गहरूलाई दुई वर्षमा स्थायीकरण गर्ने साथै पुरानो पेन्सन नीति लागु गर्ने अधिसूचना रहेको छ। यसरी सिक्किम पूर्वोत्तर राज्यहरूमा पुरानो पेन्सन योजना पुनर्स्थापना गर्ने पहिलो राज्य बन्न पुगेको छ।

 

मुख्यमन्त्री प्रेमसिंह तामाङले सरकारका सबै विभागका प्रमूखहरूलाई यस अधिसूचनालाई तत्काल प्रभावका साथमा लागु गरेर भोलिदेखि नै मापदण्ड पूरा गर्ने अस्थायी कर्मचारीहरूलाई मेमोरेण्डम अफ् एपोइन्टमेन्ट वितरण गर्ने कार्य आरम्भ गर्ने निर्देश दिएका छन्। मुख्यमन्त्रीले सबै विभागलाई फास्ट ट्र्याकमा कमा गर्ने निर्देश पनि दिएका छन्। यसका साथै जुन कर्मचारी जुन ठाउँमा अनि जुन वेतनमानमा थियो त्यहीं नै स्थायी गरिनुपर्ने पनि उनले विभागीय प्रमुखहरूलाई कडा निर्देश दिएका छन्। मुख्यमन्त्रीअनुसार यस नयाँ स्थायीकरण नीतिअनुसार ३१ दिसम्बर २०२३मा चार वर्ष सेवाकाल पूरा गर्ने वान फ्यामेली वान जबलगायत एमजी नरेगा, आशा अनि आँगनवाडी कर्मचारीहरू साथै विभिन्न विभाग अधिनस्थ परियोजनाहरूमा कार्यरत एमआर, एडहक अनि कन्सोलिडेटेड वेतन प्राप्त गर्ने अस्थायी कर्मचारीहरू स्थायी हुनेछन्।

 

अर्कोतिर, जैविक अभियानमा कार्यरत कर्मचारीहरूलाई पहिले विभागमा अन्तरभुक्त गरेर स्थायी गर्ने, दसौँ कक्षा पढेका अनि १० वर्ष सेवाकाल पूरा गरेका वार्ड एटेन्डेन्टहरूलाई पदोन्नती गरेर अफिस एसिस्टेन्ट तथा एलडीसी बनाउने साथै नीति व्यवस्थापनमा कार्यरत भोकेशनल कर्मचारीहरूलाई पनि विभागमा सामेल गर्ने घोषणा पनि गरे। सरकारले यति धेरै स्थायी कर्मचारीलाई वेतन कताबाट व्यवस्था गर्छ भन्ने बारेमा सुर्ता नगरेर अब सबै कर्मचारीले सिक्किम र सिक्किमे आमाको सेवामा अझ ऊर्जावान र सक्रिय भएर आफ्नो जिम्मेवारी पूरा गर्ने मुख्यमन्त्री तामाङले राज्यका अस्थायी कर्मचारीहरूलाई अपील गरेका छन्। यो पीएस गोलेको ग्यारेन्टी हो भन्दै उनले अस्थायी कर्मचारीहरूलाई आफूमाथि भरोसा राख्ने अनुरोध पनि गरेका छन्।

 

अर्कोतिर २०२६-मा राज्यको छैटौँ वेतन आयोग लागु हुने भएकोले कर्मचारीहरूलाई कस्तो वेतन आयोग चाहिन्छ त्यस कुरालाई ध्यानमा राखेर आगामी चुनाउमा सरकार चुन्ने पनि उनले थप बताए।

 

यस अवसरमा विभिन्न अस्थायी कर्मचारी सङ्गठनले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई अभिनन्दन पनि जनाएका थिए।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *