चौथो खेलो इण्डिया पुरुष वर्गको बक्सिङ प्रतियोगिता सिक्किमले आयोजना गर्ने

गान्तोक, १० फरवरी: आगामी २५ फरवरीदेखि चौथो खेलो इन्डिया युनिभर्सिटी गेम्स आस्था लक्ष्मी २०२३ अन्तर्गत मेन्स बक्सिङ प्रतियोगिता सुरु हुने भएको छ। उक्त प्रतियोगिता २५- २९ फरवरीसम्म राजधानीस्थित पाल्जर स्टेडियमको जिम्नेजियम हलमा सम्पन्न हुने सिक्किम सरकारको खेलकूद एवम् युवा मामिल विभागका अतिरिक्त निर्देशक आरबी विश्वकर्माले जानकारी गराएका हुन्।

शनिबार तादोङस्थित प्रेस क्लब अफ् सिक्किमको कार्यलयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस प्रतियोगिताको आयोजना राज्यको खेलकुद एवम् युवा मामिला विभाग र सिक्किम विश्वविद्यालयको संयुक्त पहलमा आयोजना हुने आरबी विश्वकर्माले बताए। यस वर्ष खेलो इन्डिया युनिभर्सिटी गेम्स स्पोर्टस अथोरिटी अफ् इन्डियाले उत्तरपूर्वी राज्यमा आयोजना गरिनुपर्ने अनुमति दिएको छ, जसमा बीसवटा खेलहरू रहनेछ। यीमध्ये पुरूषवर्गको बक्सिङ खेल भने सिक्किमले आयोजना गर्ने अवसर पाएको उनले जानकारी गराए।

सिक्किममा हुने बक्सिङ प्रतियोगिता क्वार्टर फाइनलदेखि रहनेछ। यस प्रतियोगितामा देशका आठवटा विश्वविद्यालयहरूले अंशग्रहण गर्नेछन्। उनको भनाइअनुसार, देशका दुई सयवटा विश्वविद्यालयहरूमध्ये आठवटा विश्वविद्यालय क्वालीफाई भएको हो। यस प्रतियोगितामा एकसय चारजना बक्सरहरूले सहभागिता जनाउने उनले बताए।

यसै क्रममा सिक्किम अमेच्युर बक्सिङ एसोसिएशनका अध्यक्ष जसलाल प्रधानले १३ वटा वर्गमा खेल हुने जानकारी गराएका छन्। उनले जानकारी गराएअनुसार, उक्त प्रतियोगिताको निम्ति राज्यका चारजना निर्णायक मण्डलीमा रहनेछन्। गत वर्ष १२-१८ जूनमा सम्पन्न भएको छैटौँ युवा बक्सिङ प्रतियोगिता सिक्किमले सफलतापूर्वक आयोजना गरेपछि स्पोर्टस अथोरिटी अफ् इण्डियाले पुनः यो प्रतियोगिता आयोजना गर्ने अवसर दिएको बताए।

तर यस प्रतियोगितामा सिक्किम युनिभर्सिटीले भने सहभागिता नजाउने पनि उनले अवगत गराए। सिक्किम युनिभर्सिटी एफिलेसन नभएको कारणले गर्दा यहाँका विद्यार्थीहरूले अंशग्रहण गर्न नसकेको, तर आगामी दिनमा भने यसबारेमा पनि अवश्य पहल गर्ने उनले आश्वासन दिएका छन्।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *