३२ मा ३१ आसन जितेर प्रचण्ड बहुमतका साथ एसकेएम पुनः सरकारमा; ४० वर्षपछि चामलिङ पहिलोचोटि पराजित

गान्तोक, २ जून: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले दोस्रोपटक सिक्किममा सरकार गठन गरेको छ। सिक्किम विधानसभाको हालै सम्पन्न चुनाउमा सिक्किम क्रान्तिकारी मोर्चाले प्रचण्ड बहुमतका साथ जीत हासिल गरेको छ।

३२ सदस्यीय सिक्किम विधानसभामा सिक्किम क्रान्तिकारी मोर्चाले ३१ सिट जितेको छ। कांग्रेस, सिटिजन एक्सन पार्टी, भारतीय जनता पार्टीले एउटै आसन पनि जित्न सकेनन् भने सिक्किम डेमोक्रेटिक फ्रन्टले एउटा सिट जित्न सफल भएको छ। यस परिणामसँगै सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेमसिंह तामाङ पुनः मुख्यमन्त्रीमा दोहोरिने भएका छन्।

प्रेमसिंह तामाङको नेतृत्वमा एसकेएमले सन् २०१९ को निर्वाचनमा १७ सिट जितेर सरकार गठन गर्न सफल भएको थियो। त्यसपछि सिक्किमको मुख्यमन्त्री बनेका पीएस तामाङले अहिले विधानसभामा आफ्नो पार्टीको उपस्थिति झण्डै एकलौटीजस्तो बनाएका छन्। एसडीएफको पक्षमा एउटा आसन मात्र परेको छ भने २५ वर्ष मुख्यमन्त्री पदमा बसिसकेका पूर्व मुख्यमन्त्री पवन चामलिङको दुवै विधानसभा आसनबाट हार भएको छ। पोकलोक कामराङ अनि नाम्चेबुङ विधानसभा निर्वाचन क्षेत्रबाट क्रमशः एसकेएम उम्मेदवार भोजराज राई र राजु बस्नेतले ठूलो मतान्तरले चामलिङलाई पराजित गरेका छन्।

चामलिङ नरबहादुर भण्डारी शासनकालमा १० वर्ष मन्त्री अनि ५ वर्ष विधायक रहेका थिए। यसरी उनी भण्डारी शासनकालमा १५ वर्ष विधायक रहेका इतिहास छ यसपछि एसडीएफ शासनकालमा २५ वर्ष उनी सिक्किमका मुख्यमन्त्री रहे भने एसकेएम सरकारकालमा पनि उनी ५ वर्ष विधायक रहेका हुन्। यसरी ८ पटक विधायक निर्वाचित बनेका चामलिङ जीवनमा पहिलोपटक पराजित भएका हुन्।

२५ वर्षे चामलिङ सरकारले गरेको कार्यलाई पाँच वर्षमै एसकेएम सरकारको कार्यले उछिनेकोले नै चामलिङ दुवै क्षेत्रबाट पराजित भएको एसकेएम अध्यक्ष पीएस तामाङले पत्रकारहरूसँग कुराकानी गर्दै मन्तव्य जाहेर गरे। १०औँ राज्य विधानसभा भङ्ग भइसकेपछि अब ११औँ राज्य विधानसभा गठन गर्ने दिशामा भारतीय चुनाउ आयोगको दिशानिर्देश अनुसार आफूले अघिल्लो पदक्षेप ग्रहण गर्ने पनि उनले बताए। अपार ऐतिहासिक जीतको निम्ति उनले सिक्किमका सम्पूर्ण जनता अनि पार्टी कार्यकर्ताहरूप्रति आभार व्यक्त गरे। एउटा प्रश्नको जवाबमा तामाङले एक परिवार एक नौकरीअन्तर्गत नौकरी दिइएका सबैको नौकरी स्थायी हुने बताएका छन्।

जुन भोटिङ प्रतिशत एसकेएमलाई प्राप्त भएको छ त्यसले नै एमपी आसनमा पनि एसकेएम उम्मेदवार इन्द्रहाङ सुब्बाको जीत हुने निश्चित भएको पीएस तामाङले बताए। केन्द्रमा नरेन्द्र मोदीको नेतृत्वमा फेरि सरकार गठन हुने बताउँदै तामाङले एसकेएम सांसद केन्द्रमा फेरि पनि एनडीएको साथमा रहने बताए। यसपल्ट भाजपाले ४०० पार आसन जित्ने पनि उनले ठोकुवा गरेका छन्।

उल्लेखनीय छ, पीएस तामाङले सन् २०१९ मा २५ वर्षदेखि सत्तामा रहँदै आएका पवन चामलिङलाई विस्थापित गरेका थिए। तामाङले सन् २०१३ मा पूर्वमुख्यमन्त्री चामलङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टबाट विद्रोह गरेर सिक्किम क्रान्तिकारी मोर्चा गठन गरेका थिए। २०१४ सालमा भएको चुनाउमा सिक्किम क्रान्तिकारी मोर्चाले विधानसभाका ३२ मध्ये १० सिटमा जित हासिल गरेर विपक्षमा बसेको थियो। यसपछि सन् २०१९ सालमा भएको विधानसभा चुनाउमा एसकेएमले १७ वटा आसन जितेर सरकार बनाएको थियो भने पछि एसडीएफबाट दुईजना विधायक एसकेएम पार्टीमा सामेल भएपछि यसको संख्या १९ पुगेको थियो। चुनाउको ठीक अघि एसकेएम त्यागेर एसडीएफमा प्रवेश गरेका तेञ्जिङ नोर्बु लाम्टाले स्यारी निर्वाचन क्षेत्रबाट जितेर अहिले एसडीएफको एकल विधायक बनेका छन्।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *