गान्तोक, ४ मई: सिक्किमको एकमात्र लोकसभा आसनमा एसकेएम उम्मेदवार इन्द्रहाङ सुब्बा भारी मतले विजयी बनेका छन्। अन्य १३ जना उम्मेदवारलाई पछि छोड्दै ४२.५२ प्रतिशत मत प्राप्त गरेर उनी दोस्रोपटक सांसद चुनिएका छन्। उनले कूल १६४३९६ मत प्राप्त गरेका छन्। गत २०१९-को चुनाउमा उनले ४७.४६ प्रतिशत मत प्राप्त गरेका थिए भने यसपटक ४२.५२ मत प्राप्त गरेका छन्।
चुनाउ जितेपछि पत्रकारहरूसित कुराकानी गर्दै इन्द्रहाङ सुब्बाले मतदाताहरूलाई धन्यवाद दिएका छन्। यो जीत सिक्किमे जनताको जीत रहेको उनले बताए। सिक्किमे जनताले आफूमाथि विश्वास गरेर दोस्रोपल्ट लोकसभा सांसदको रूपमा चुनेकोमा सिक्किमे जनताप्रति उनले आभार व्यक्त गरेका छन्। यसको साथै उनले एसकेएम पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई पनि धन्यवाद दिएका छन्। यसरी नै सबै पार्टी कार्यकर्तालाई पनि उनले धन्यवाद दिएका छन्। लोकसभा सांसदको रुपमा आफ्नो पहिलो कार्यकालभन्दा अधिक काम गरेर देखाउने उनको भनाइ रहेको छ। थाँतीमा रहेका केन्द्रीय विषयका कामहरूलाई पूरा गर्ने उनले बताएका छन्। जनजाति मान्यता पाइसकेका लिम्बू र तामाङ समुदायको सिक्किम विधानसभामा सीट आरक्षणको मागलाई प्राथमिकतामा राखेर काम गर्ने पनि उनले थप बताए।
यसपल्टको लोकसभा चुनाउमा जम्मा १४ जना उम्मेदवार चुनावी मैदानमा थिए जसमा ६ जना विभिन्न राजनीतिक पार्टीका उम्मेद्वार र रहल ८ जना निर्दलीय उम्मेदवार थिए। एसेकेएमका इन्द्रहाङ सुब्बापछि सिटिजन एक्सन पार्टीका भरत बस्नेतले ८३५६६ (२१.७१ प्रतिशत), सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका प्रेमदास राईले ७७१७१ (२०.४६ प्रतिशत), निर्दलीय उम्मेदवार लातेन शेर्पाले २१२६३ (५.५२ प्रतिशत), भारतीय जनता पार्टीका दिनेशचन्द्र नेपालले १९०३५ (४.९५ प्रतिशत), निर्दलीय उम्मेदवार सम्भू छेत्रीले ४६९०, सिक्किम रिपब्लिकन पार्टीका केबी राईले ४७९९, भारतीय राष्ट्रिय कंग्रेससका गोपाल छेत्रीले २२४१, निर्दलीय उम्मेद्वारहरू नवीन किरण प्रधानले ११६६, रविचन्द्र राईले ११२३, वीणा राईले ११२५, स्यामल पालले ७४०, रुद्र मणि प्रधानले ५१९ र मधुकर ढकालले ५३२ मत प्राप्त गरेका छन्। २५२७ मत भने नोटामा गएको छ। उल्लेखनीय छ, यसपल्टको लोकसभा चुनाउमा जम्मा ३८४८९३ मतदान भएको थियो।