बिहार घुम्न गएकी सिक्किमकी युवतीमाथि सामुहिक बलात्कार; दुवै आरोपी पक्राउ

गान्तोक, ७ जून: सिक्किमकी एक युवतीलाई बिहारको किशनगञ्ज सदर थाना क्षेत्र स्थित एउटा लजमा बुधबार बिहान दुई युवकले सामूहिक बलात्कार गरेको घटना प्रकाशमा आएको छ। घटनाको उजुरी दर्तापछि प्रहरीले दुवै आरोपीलाई पक्राउ गरेको बताइएको छ। पक्राउ परेका आरोपी अरहान अख्तर किशनगञ्जको बहादुरगञ्जका र अमजद हुसेन अररियाका बासिन्दा हुन्। प्रहरीले पीडितको बयानका आधारमा एफआईआर दर्ता गरेको छ।

दर्ता भएको एफआईआर अनुसार पीडित युवती आफ्ना एक साथीसँग किशनगञ्ज गएकी थिइन्। फर्कने क्रममा उनको रेल छुटेको थियो। त्यसपछि पीडितले किशनगञ्जमा आफ्नी बहिनीकी सम्पर्कमा रहेका साथीलाई फोन गरिन्। पीडितकी बहिनीका केही साथी स्टेशन पुगे र दुबैलाई लजमा लिएर गए। दुवै अभियुक्त युवा पहिलेदेखि नै लजमा थिए।

लजमा खाना खाएर दुवै युवती सुत्न गएका थिए। त्यसपछि दुवै आरोपी युवकले दुवै युवतीमाथि जबरजस्ती गर्न थाले। त्यसपछि जसको अनुरोधमा दुवै युवती लजमा पुगेका थिए ती युवकले घटनाको विरोध गर्न थाले। त्यसमा दुवै आरोपी युवकले उक्त युवकलाई डोरीले बाँधेका थिए। यसैबीच पीडितका साथी त्यहाँबाट भाग्न सफल भइन्। यसैबीच दुवै आरोपीले पीडितलाई पालैपालो बलात्कार गरेको राष्ट्रिय सञ्चार माध्यमहरूले बताएको छ। पीडितका साथीले घटनाबारे प्रहरीलाई जानकारी गराएकी थिइन्।

सूचना पाएलगत्तै किशनगञ्ज सदर पुलिस चौकीका प्रमुख सन्दीप कुमारको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। पुलिस टोलीले आरोपित दुवै युवालाई पक्राउ गरेको छ। पीडित र अर्का एक युवकको पनि उद्धार गरिएको छ। घटनाको अनुसन्धान गर्न भागलपुरबाट फरेन्सिक टोली पनि पुगेको थियो।

तीन सदस्यीय फरेन्सिक टोलीले घटनास्थलबाट प्रमाण संकलन गरेको छ। पीडितको मेडिकल जाँच गराइएको छ भने दुबै अभियुक्तलाई स्पिड ट्रायल अन्तर्गत सजाय हुने बताइएको छ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *