सिक्किमका नयाँ राज्यपालका रूपमा ओम प्रकाश माथुरले लिए शपथ

गान्तोक, ३१ जुलाई: भारतीय जनता पार्टीका वरिष्ठ नेता एवम् पूर्व राज्यसभा सांसद ओम प्रकाश माथुरले सिक्किमको १८औँ राज्यपालको रूपमा शपथ लिएका छन्। बुधबार उनलाई राजभवनमा आयोजित एउटा कार्यक्रमबीच सिक्किम उच्च न्यायलयका मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दरले शपथ ग्रहण गराएका छन्। कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ साथै सिक्किम विधानसभाका अध्यक्ष मिङ्मा शेर्पाको लगायत अन्यको उपस्थिति रहेको थियो।

गत २७ जुलाईको दिन देशकी राष्ट्रपति द्रौपदी मुर्मूले ७२ वर्षीय माथुरलाई सिक्किमको राज्यपाल मनोनित गरेकी थिइन्। सिक्किमका तत्कालीन राज्यपाल लक्ष्मणप्रसाद आचार्यलाई असमको राज्यपाल मनोनित गरिएको थियो भने उनलाई मणिपुरका राज्यपालको अतिरिक्त कार्यभार पनि दिइएको थियो। आचार्यले मंगलबार मणिपुर र बुधबार असमको राज्यपालको शपथ लिएका छन्। सिक्किमका नयाँ राज्यपाल ओम प्रकाश माथुरको जन्म सन् १९५२-मा राजस्थानमा भएको हो। उनले राजस्थान विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको पढाई गरेका छन्। उनी राष्ट्रिय स्वंयसेवक सङ्घका पूर्व प्रचारक हुन्। उनले राजस्थान भाजपाको उपाधक्ष्यको रूपमा काम गरिसकेका छन् भने २०१६-मा राजस्थानबाट राज्यसभा सांसद पनि बनिसकेका छन्।

गत वर्ष छत्तीसगढमा भाजपालाई पुनः सत्तामा फर्काईल्याउनमा उनको महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ। त्यस समय उनी त्यहाँका भाजपा प्रभारी थिए।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *