बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना भारतबाट लन्डन जाने चर्चा चलिरहेको समयमा बेलायतले उनलाई शरण दिन नसक्ने जानकारी प्राप्त भएको छ। बेलायत गएर शरण वा शरणार्थीको हैसियत माग्नेलाई त्यहाँको कानुनले यात्राको अनुमति नदिने बेलायतको गृह मन्त्रालयले जनाएको बताइएको छ। सोमबार सरकार विरोधी उग्र प्रदर्शनबिच राजीनामा दिएर देश छोडेकी हसिना अहिले दिल्लीमा छिन्।
शरण माग्न चाहनेले उ सबैभन्दा पहिला पुगेको देशमै शरणका लागि आवेदन दिनु पर्ने बेलायत सरकारले भनेको छ। तर, शरण खोज्दै आउने वा अस्थायी रूपमा शरणार्थी बन्नकै लागि आउनेलाई यात्राको अनुमति दिने कुनै प्रावधान नरहेको गृह मन्त्रालयको प्रवक्ताले बताएका छन्। अन्तर्राष्ट्रिय सुरक्षा चाहिने व्यक्तिले आफू पुगेको पहिलो सुरक्षित देशमै शरण माग्नु पर्ने प्रवक्ताको भनाइ छ। औपचारिक शरणको अनुरोधमा प्रक्रिया अगाडि बढिरहेको चर्चा पनि सुन्नमा आइरहेको छ।