गान्तोक, ५ अगस्ट: सोमबारदेखि सुरु भएको सिक्किम राज्यको वर्ष २०२४-२५-को बजेट सत्रको पहिलो दिन राज्यका नवनियुक्त राज्यपाल ओम प्रकाश माथुरले सदनलाई सम्बोधन गर्दै भखरै सम्पन्न राज्यको ११औँ विधानसभा अनि १८औँ लोकसभा चुनाउमा राज्यमा भएको ८३.४ प्रतिशत मतदानले देशको लोकतन्त्रमा सिक्किमेली जनताको सक्रिय भागिदारीलाई दर्शाउने बताएका छन्। उनले भर्खरै सम्पन्न सिक्किम विधानसभा साथै लोकसभा चुनाउममा उत्कृष्ट जीतको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङ साथै सबै विजेता जनप्रतिनिधिहरूलाई बधाई पनि दिएका छन्।
सरकारले पहिलो कार्यकालमा कोभिड महामारी र टिस्टा बाढीलगायत विभिन्न चुनौतीको सामना गर्नुपरे तापनि दृढता, एकता र प्रतिबद्धताका साथमा सिक्किमवासीले एकजुट भएर प्रतिकूल परिस्थितिहरूमा पनि धेरै सफलता प्राप्त गरेको राज्यपालले आफ्नो सम्बोधनमा बताए। अत्याधिक वर्षाका कारण अहिले पटकपटक राष्ट्रिय राजमार्ग १० वाधित हुने समस्याको पनि विशेष उल्लेख गरे। यसले सिक्किमवासीलाई अत्याधिक प्रभावित बनाएको छ भन्दै राष्ट्रिय राजमार्ग पुनर्वहालीको निम्ति राज्य सरकारले केन्द्र सरकारसित वार्तालाप गरिसकेको पनि उनले सदनमा जानकारी गराए। राज्य सरकारले केन्द्रसमक्ष राष्ट्रिय राजमार्ग १०-को पुनर्गठन र नवीकरणको निम्ति एक विशेष प्याकेजको माग गरेको पनि उनले बताए।
सिक्किमले बितेका पाँच वर्षमा विशेष गरेर स्वास्थ्य, शिक्षा, सामाजिक कल्याण र पूर्वाधार विकासको क्षेत्रमा द्रुतगतिमा काम गरेको राज्यपालले आफ्नो सम्बोधनमा बताए। सतत विकास लक्ष्य (एसडीजी) र बहुआयामी गरिबी सूचकाङ्क (एमपीआइ)-मा सिक्किम राज्यको असल प्रदर्शनी, गरिबी उन्मूलन, उद्योग र नवाचारलाई बढावा साथै जलवायु परिवर्तनको विषयमा राज्य सरकारको प्रतिबद्धतालाई दर्शाउने उनले बताए। नीति आयोगद्वारा हालै जारी गरिएको देशको बहुआयामी गरिबी सुचकाङ्क रिपोर्टमा सिक्किमलाई देशको बहुआयामी गरीब जनसङ्ख्यामा ३.८२ प्रतिशतको साथमा तेस्रो सबैभन्दा कम्ति गरिबी भएको राज्य बताइएको राज्यपालले सदनलाई जानकारी गराए। यसरी नै नीति आयोगको सतत विकास लक्ष्यको नविनतम आङ्कलनअनुसार सिक्किम राज्यले वित्त वर्ष २०२०-२१-मा पछिल्ला सर्वेक्षणको तुलनामा धेरै सुधार गरेको पनि उनले थप बताए।
सम्बोधनको क्रममा राज्यपालले आफ्नो सरकारका केही उल्लेखनीय योजनाहरू जस्तै सिक्किम आमा सहयोग योजना, बहिनी योजना, सिक्किम गरीब आवास योजना, सिक्किम शहरी गरीब आवास योजना, मेरो रुख मेरो सन्तति, मोबाइल ग्राम क्लीनिक, मुख्यमन्त्री स्वास्थ्य सुविधा योजना, मुख्यमन्त्री चिकित्सा सहायता योजना, मुख्यमन्त्री आत्मनिर्भर योजना, मुख्यमन्त्री कृषि आत्मनिर्भर योजना, मुख्यमन्त्री पशुधन समृद्धि योजना, दूध उत्पादन प्रोत्सहान योजना, सुङ्गुर उत्पादन प्रोत्सहान योजना आदिबारे जानकारी गराए। आफ्नो सरकार राज्यमा महिलाहरूको विकास र सशक्तिकरणको क्षेत्रमा पनि प्रतिबद्ध रहेको राज्यपालले आफ्नो सम्बोधनमा बताए। यस सन्दर्भमा बोल्दै उनेले सिक्किम राज्यमा पञ्चायत चुनाउमा महिलाहरूलाई ५० प्रतिशत आरक्षण दिइएको र गत पञ्चायत चुनाउमा ५३ प्रतिशतभन्दा अधिक आसनमा महिलाहरूको प्रतिनिधित्व रहेको जानकारी गराए।
राज्यपालले आफ्नो सम्बोधनमा हालै देशकी वित्तमन्त्री निर्मला सितारमनले संसदमा पेश गरेको केन्द्रीय आम बजेटको पनि उल्लेख गर्दै उक्त बजेटलाई देशका मध्यम वर्गीय परिवार र युवाहरूको कल्याणलाई ध्यानमा राखेर तयार पारिएको बजेट बताए।
राज्यपालको सम्बोधनपछि विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, सदनका नेता तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि सदस्यहरूको साथमा राज्यपाल ओम प्रकाश माथुरले विधानसभा परिसरमा आधिकारिक फोटो खिचाए। राज्यपाल सदनबाट प्रस्थान भएपछि मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यपालको भाषणमाथि धन्यवाद प्रस्ताव ल्याए, जसलाई मन्त्री भीमहाङ सुब्बाले समर्थन जनाए। राज्यपालको सम्बोधनमाथि मुख्यमन्त्रीले ल्याएको यस धन्यवाद प्रस्तावमाथि भोलिको सदनमा बहस हुनेछ।