सदनमा दुईवटा संशोधित र तीनवटा विधेयक बिनाबहस पारित: बजेटमाथिको चर्चामा कसैले लिएनन् भाग

गान्तोक, ६ अगस्ट: आज विधानसभाको बजेट अधिवेशनको दोस्रो दिन हिजो मुख्यमन्त्री एवम् वित्त प्रभारी मन्त्री प्रेमसिंह तामाङद्वारा सदनमा प्रस्तुत गरिएको वर्ष २०२४-२५- को साधरण बजेटमाथि चर्चा हुनपर्ने थियो तर बजेटमाथिको चर्चामा सदनका एकैजना सदस्यले पनि भाग लिएनन्। यसरी यस वर्षको बजेटमाथिको चर्चा बिनाचर्चा नै समाप्त भयो।

 

हिजो मुख्यमन्त्री प्रेमसिंह तामाङले वर्ष २०२४-२५-का लागि राज्यका निम्ति १४४९०.६७ करोड रूपियाँको बजेट प्रस्तुत गरेका थिए। चार दिने बजेट अधिवेशनको अन्तिम दिन आगामी ९ अगस्तको दिन बजेटमाथि मतदान हुनेछ।

हिजो बजेट अधिवेशनको पहिलो दिनको सदनमा राज्यका नवनिर्वाचित राज्यपाल ओम प्रकाश माथुरले सम्बोधन गरेका थिए, जसमाथि सदनका नेता तथा मुख्यमन्त्री प्रेमसिंह तामाङले धन्यवाद प्रस्ताव ल्याएका थिए। उक्त धन्यवाद प्रस्तावमाथि आजको सदनमा चर्चा हुनपर्ने थियो। तर, सदनका एकैजना सदस्यले पनि चर्चामा भाग लिएनन्। जानकारी गराइन्छ, अहिले राज्य विधानसभामा सबै ३२-जना सदस्य सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाका छन्।

हिजो प्रस्तुत गरिएका दुईवटा संशोधनलगायत तीनवटा विधेयकलाई पनि आज बिनाबहस पारित गरियो। हिजो मुख्यमन्त्री तथा प्रभारी वित्तमन्त्री प्रेमसिंह तामाङले सदनमा ल्याएका संशोधन विधेयकहरू सिक्किम अदालत शुल्क तथा दस्तावेज स्ट्याम्प संशोधन विधेयक २०२४ र सिक्किम अनलाइन गेमिङ नियमन संशोधन विधेयक २०२४ माथिको चर्चामा सदनका कुनै पनि सदस्यले भाग लिएनन्। यसरी नै पर्यटन एवं नागरिक उड्डयन मन्त्री छिरिङ थेण्डुप भोटियाले सदनमा प्रस्तुत गरेको सिक्किम पर्यटन व्यापार पञ्जीकरण विधेयक २०२४-माथिको बहसमा पनि कसैले भाग लिएनन्। सबै तीनवटा विधेयकलाई सदनले बिनाबहस ध्वनीमतले पारित गर्‍यो।

यसअघि सदनमा हालै सर्वगावास भएका सिक्किम विधानसभाका दुई पूर्व सदस्य स्व. सोनाम ग्याछो भोटिया र रामचन्द्र पौड्याल अनि पूर्व लोकसभा सदस्य स्व. पहलमान सूब्बाका निम्ति शोक संवेदना प्रस्ताव ल्याइएको थियो, जसमा विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थाप, मुख्यमन्त्री प्रेमसिंह तामाङ, मन्त्रीहरू राजु बस्नेत र भीमहाङ सुब्बा अनि विधायक रिक्सेल भोटियाले भाग लिएका थिए।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *