गान्तोक, २३ अगस्ट: इन्डिया टुडे ‘मुड अफ द नेशन २०२४’ सर्वेक्षण अनुसार मुख्यमन्त्री प्रेमसिहं तामाङ आफ्नो गृह राज्यभित्र भारतमा सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीको रूपमा चिनिएको सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-ले शुक्रबार साझा गरेको छ। मुख्यमन्त्री तामाङ ५५.७-को उत्कृष्ट लोकप्रियता मूल्याङ्कनका साथ सूचीमा अग्रणी छन् जसले उनलाई देशको शीर्ष-रेट गरिएको मुख्यमन्त्री बनाएको छ, एसकेएमले एउटा प्रेस विज्ञप्तिमा बताएको छ।
‘मूड अफ द नेसन’ सर्वेक्षणले अन्य लोकप्रिय मुख्यमन्त्रीहरूको पनि सूची साझा गरेको छ जसमा हेमन्त विश्व सरमा (असम) ५०.०८% अङ्कसहित दोस्रो स्थानमा छन् भने गुजरातका मुख्यमन्त्री भूपेन्द्रभाई पटेल (गुजरात) ४६% अङ्कसहित तेस्रो स्थानमा छन्। सर्वेक्षणले अन्य शीर्ष १०-जना लोकप्रिय मुख्यमन्त्रीहरूको नाम पनि साझा गरेको छ।
सिक्किमका मुख्यमन्त्रीलाई आफ्नो गृह राज्यमा लोकप्रियताका हिसाबले अन्य नेताहरूमध्ये शीर्ष स्थानमा उभिएको देख्नु ठूलो खुसीको कुरा रहेको एसकेएमले बताएको छ। “पीएस गोलेको सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीको रूपमा मान्यता सिक्किमका जनतासँग उनको बलियो सम्बन्धको प्रमाण हो। उनको नेतृत्वले भर्खरको चुनाउमा सिक्किम क्रान्तिकारी मोर्चाको भारी विजयका लागि जनताको विश्वास र समर्थन कमाएको छ। उनलाई तल्लो तहमा व्यापक रूपमा मन पराइएको छ र यो सर्वेक्षणले उनको अतुलनीय लोकप्रियतालाई पुष्टि गर्छ,”एसकेएमले भनेको छ। मुख्यमन्त्रीको केन्द्रीय नेतृत्व र केन्द्र सरकारसँगको राम्रो सम्बन्धले उनलाई सिक्किम र राष्ट्रिय स्तरमा सम्मानित नेताको रूपमा स्थापित गरेको एसकेएमको भनाइ रहेको छ।
एसकेएमले यस मान्यताका लागि पार्टी अध्यक्ष गोलेलाई बधाई दिएको छ। पार्टीले सिक्किमेली जनतालाई निरन्तर समर्थन र विश्वासका लागि धन्यवाद पनि दिएको छ। “सिक्किम क्रान्तिकारी मोर्चा पार्टी गर्वका साथ सिक्किमका जनतासँग यो मान्यता साझा गर्दछ, जसको दृढ समर्थन र विश्वासले यो उपलब्धि सम्भव भएको छ। यो राज्यको प्रगतिका लागि नेतृत्वको सामुहिक प्रयास र प्रतिबद्धताको प्रतिबिम्ब हो,” एसकेएमले भनेको छ।