ह्वाइटहाउसको दौडमा रहेका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले रिपब्लिकन दलका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन्। नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावी दौडबाट अलग भएलगत्तै उनी एरिजोनामा आयोजित ट्रम्पको र्यालीमा सहभागी भएका छन्।
लामो समयदेखि डेमोक्रेटिक दलमा आबद्ध रहेका केनेडी परिवारका ७० वर्षीय रोबर्ट जुनियरले पार्टी सिद्धान्तका कारण डेमोक्रेटिक दल छाडेको र ट्रम्पलाई समर्थन गर्न बाध्य बनेको दाबी गरेका छन्। एरिजोनको र्यालीमा रोबर्ट जुनियरले बोल्नअघि ट्रम्पले आफू निर्वाचित भएमा अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको १९६३ मा भएको हत्यासँग सम्बन्धित सबै बाँकी कागजातहरू सार्वजनिक गर्ने बताए। अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीका भतिज रोबर्ट जुनियर सिनेटर रोबर्ट एफ केनेडीका छोरा हुन्। सिनेटर रोबर्टको १९६८ मा हत्या भएको थियो।
क्यालिफोर्नियाको ग्लेन्डेलमा आयोजित र्यालीका क्रममा ट्रम्पले रोबर्ट जुनियर एक ‘अभूतपूर्व’ र ‘उज्ज्वल’ राजनीतिज्ञ भएको भन्दै प्रशंसासमेत गरेका छन्। तर डेमोक्रेटिक दलका तर्फबाट राष्ट्रपतिकी प्रत्यासी कमला हृयारिसले भने केनेडीका मतदाताहरूको समर्थन ‘आर्जन’ गर्ने प्रयास गर्ने बताएकी छन्।
राष्ट्रपतीय चुनावको तारिख नजिकिँदै गर्दा रोबर्ट जुनियरको चुनावी अभियान कमजोर बन्दै गएको थियो। जसका कारण उनीप्रति मतदातको समर्थन ह्वात्तै घटेको थियो। तर उनले रिपब्लिकन उम्मेदवार ट्रम्पलाई गरेको समर्थनले भने समर्थक तथा आफन्त झनै आक्रोशित बनेको बताइन्छ।
बहिनी केरी केनेडीले रोबर्ट जुनियरले ट्रम्पलाई समर्थन गरेर बुबा र केनेडी परिवारले सबैभन्दा प्रिय मान्ने मूल्यमान्यतालाई धोका दिएको बताएकी छन्। तर रुससँग वार्ता गरेर युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको वाचाले नै आफूले गरेको समर्थनको औचित्य प्रमाणित हुने रोबर्ट जुनियरले दाबी गरेका छन्। अझै पनि धेरै मुद्दा र दृष्टिकोणहरूमा दुईजनाबीच गम्भीर मतभेद रहेको तर अन्य मुख्य मुद्दामा भने एक भएका रोबरेट जुनियरले बताएका छन्।
सबैभन्दा लोकप्रिय समयमा उनले १४ देखि १६ प्रतिशत मतदातको समर्थन जुटाएका चुनावी सर्वेक्षणहरूले देखाएका थिए। तर हृयारिस डेमोक्रेटिक दलको उम्मेदवार भएदेखि भने उनलाई समर्थन गर्ने उम्मेदवारको संख्या १ अङ्कमा झरेको बताइन्छ।
समय सापेक्ष कार्य सुरु गर्नुभएकोमा सिक्किम जनखबरलाई हार्दिक शुभकामना साथै बधाई छ। डिजिटल समाचार सम्प्रेषणको अति आवस्यक थियो । निस्पक्ष र निर्भीक समाचार माध्यम बनोस् । नेपाली भासा साहित्यले पनि राम्रो स्थान पाउनेछ भन्ने विस्वास राखेको छु। धन्यवाद