गान्तोक, २४ अगस्ट: सिक्किमका पूर्व विधायकहरूको पेन्सन वृद्धि गर्ने मुख्यमन्त्री प्रेमसिंह तामाङले घोषणा गरेका छन्। उनले शनिबार गान्तोकमा एउटा कार्यक्रममा सम्बोधन गर्ने क्रममा उक्त घोषणा गरेका हुन्।
पूर्व विधायक परिसंघले शनिबार आफ्नो २२औँ स्थापना दिवस राजधानी गान्तोकमा भव्यताका साथ पालन गऱ्यो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसरी नै कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, विधानसभा अध्यक्ष एमएन शेर्पा, अपाध्यक्ष राजकुमापी थापा, लोकसभा सांसद, मन्त्रीगण, विधायकगण, पूर्व विधायकहरू, स्वर्गीय पूर्व विधायकहरूका धर्मपत्नीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा एसआरएम नर्सिङ कलेजले नशामुक्त सिक्किममा आधारित नाटक मञ्चन गरेको थियो। मुख्यमन्त्रीको बाहुलीबाट पूर्व विधायक परिसंघले तयार गरेको दुईवटा पुस्तक पूर्वीयालोक अनि जनसंवाद पनि लोकार्पण गरियो। यसका साथै परिसंघले मुख्यमन्त्रीको बाहुलीबाट सन् १९७३-को प्रजातन्त्रिक आन्दोलनमा खटिएका अदृश्य नायकहरूलाई सम्मान जनायो। यसरी नै परिसंघले पाँचौँ अनि छैटौँ विधानसभाका १३-जना पूर्व विधायकहरूलाई सम्मान जनायो। यसरी नै कार्यक्रममा परिसंघले मुख्यमन्त्री पीएस तामाङलाई शसक्त रूपमा राज्य सञ्चालन गरेको साथै निस्वार्थ सेवाको निम्ति सम्मान जनायो। यसका साथै कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा अनि उपाध्यक्ष राजकुमारी थापालाई पनि सम्मान जनाइएको थियो।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनको क्रममा परिसंघलाई बधाई दिए। परिसंघ सबैको साझा मञ्च भएको हुनाले यसलाई कसैले राजनैतिक रङ नदिने उनले आग्रह पनि गरे। अहिलेसम्म सेवा पुऱ्याउने सबै पूर्व विधायकहरूलाई स्मरण गर्दै मुख्यमन्त्री तामाङले सन् १९७५-देखि सिक्किमलाई निर्माण गर्नका निम्ति आ-आफ्नो सेवा दिने सबैप्रति आभार व्यक्त गरे। पदमा हुँदा होस् वा नहुँदा होस् राजनेताहरूले सधै जनताको सेवा गर्नुपर्ने मुख्यमन्त्रीले बताए।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनको क्रममा प्रतिपक्षीहरूलाई पनि धन्यवाद दिए। प्रतिपक्षीहरूकै कारण आफूले कटिबद्ध भएर अघि बढ्ने हौसला पाएको उनले बताए।
परिसंघको मागलाई सम्बोधन गर्दै सरकारले पूर्व विधायकहरूलाई भूमि प्रदान गरेर अब चाँडै गान्तोकमा पूर्व विधायक आवास निर्माण गर्ने मुख्यमन्त्रीले प्रतिबद्धता व्यक्त गरे। परिसंघको कार्यलय सञ्चालनका निम्ति प्रति वर्ष १० लाख रुपियाँ प्रदान गरिरहेको पनि उनले जानकारी गराए। आगामी सप्लीमेन्ट्री बजेटमा पूर्व विधायकहरूको पेन्सन बढोत्तरीको प्रस्ताव ल्याएर पारित गर्ने उनले घोषणा गरेका छन्। एक कार्यकाल गर्ने विधायकहरूलाई ५० हजार रुपियाँ अनि दुई कार्यकालभन्दा अधिक सेवा गर्ने पूर्व विधायकहरूलाई ५५ हजार पेन्सन बनाउने उनले बताएका छन्।
एक दमै राम्रो पहल सिक्किम जनखबरको !