गान्तोक, २५ अगस्ट: राजधानी नयाँ दिल्लीको भ्रमणमा रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रिय सञ्चार तथा पूर्वोत्तर क्षेत्रका विकास मन्त्री ज्योतिरादित्य माधवराव सिन्धियासँग भेट गरेका छन्।
यस भेटघाटको अवसरमा हालै केन्द्रिय मन्त्रीको रूपमा नियुक्त भएका सिन्धियालाई मुख्यमन्त्री तामाङले बधाई दिएका छन्। मुख्यमन्त्रीले केन्द्रिय मन्त्री समक्ष मंगन र नाम्ची जिल्लाका जिल्ला अस्पताल साथै गान्तोक जिल्लामा मेडिकल कलेज निर्माणका लागि आर्थिक सहयोगको माग गर्दै ज्ञापनपत्र पनि बुझाएका छन्। मुख्यमन्त्रीले राखेका महत्त्वपूर्ण मागलाई सकारात्मक रूपमा लिएर केन्द्रिय मन्त्रीले समर्थन गर्न आफ्नो प्रतिबद्धता व्यक्त गरेका बताइएको छ।
यस अवसरमा मुख्यसचिव भीबी पाठक, प्रिन्सिपल आरसी एके चन्द, मुख्यमन्त्रीका सचिव एसडी ढकाल र डीओपीका सचिव रिनजिङ छेवाङ भोटिया पनि उपस्थित थिए।