पाकिम, २५ अगस्ट: आज भारतीय गोर्खा परिसंघ, सिक्किम शाखाले डुगामा बलिदान दिवस २०२४ पालन गर्यो। सनराइज एकाडेमी, डुगाको प्रेक्षागृहमा आयोजित कार्यक्रममा सिक्किम सरकारका सहकारिता विभाग अनि ग्रामीण विकास विभागका मन्त्री अरुणकुमार उप्रेती मुख्य अतिथिको रूपमा उपस्थित थिए।
सभालाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले भारतको स्वतन्त्रता सङ्ग्राममा गोर्खा समुदायको योगदान र बलिदानलाई सम्मान गर्ने दिनको रूपमा रहेको बलिदान दिवसको महत्त्वबारे जानकारी गराए। उनले स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रका लागि उनीहरूको योगदानलाई स्मरण गर्नुपर्ने कुरामाथि जोड दिए।
कार्यक्रममा गत वर्ष ३ र ४ अक्टोबरमा सिक्किममा गएको विनाशकारी बाढीका समय महत्त्वपूर्ण भूमिका खेल्ने जमिनी-स्तरका सरकारी कर्मचारीहरू र सिक्किममा सबैभन्दा धेरै रक्तदान गर्ने रक्तदातालाई मान्यता र सम्मान गर्न कृतज्ञता प्रदर्शनी पनि गरिएको थियो।
कार्यक्रममा गोर्खा गौरव सम्मान पुरस्कारले चन्द्रप्रसाद गिरी, धनबहादुर छेत्री, डा सावित्री हमाल र सीमा प्रधानलाई सम्मानित गरियो भने वीर नारी सम्मान पुरस्कारले चन्द्रिका ठटाल, सुमित्रा बस्नेत, दिपा शर्मा र नरबहादुर छेत्रीलाई सम्मिनित गरिएको थियो।
कार्यक्रममा सनराइज एकाडेमी, डुगाका विद्यार्थीहरू र स्थानीय कलाकारहरूले गोर्खा समुदायको समृद्ध सांस्कृतिक सम्पदालाई झल्काउने सांस्कृतिक प्रस्तुतिहरू राखेका थिए। कार्यक्रममा स्थानीय पञ्चायत सदस्यगण, पद्मश्री द्रौपदी घिमिरे, साहित्यकार रुद्र पौड्याल, सिक्किम अकादमीका अध्यक्ष एसआर सुब्बा, कलाकर्मी एवम् भारतीय गोर्खा परिसंघको सिक्किम शाखाका अध्यक्ष चुनिलाल घिमिरे, अनुवादक कुबेर दाहाल साथै भारतीय गोर्खा परिसंघका सदस्यगण आदिको पनि उपस्थिति रहेको थियो।