स्वर्ण जयन्ती राज्य दिवसमा प्रधानमन्त्री मोदी सिक्किम आउने निश्चित; मुख्यमन्त्री तामाङले भेटेर दिए औपचारिक निमन्त्रणा

गान्तोक, २६ अगस्ट: सिक्किम भारतको २२औँ राज्य बनेको ५० वर्ष पूरा भएको अवसरमा अर्को वर्ष राज्यले आयोजना गर्ने स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य अतिथिका रूपमा सिक्किम आउने निश्चित भएको छ। राजधानी नयाँ दिल्लीको भ्रमणमा रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङले सोमबार प्रधानमन्त्री मोदीसँग भेट गरेर १६ मई २०२५-मा पालन गरिने स्वर्ण जयन्तीको समारोहमा मुख्य अतिथिको रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा दिएका हुन्। प्रधानमन्त्री मोदीले उक्त निमन्त्रणा स्वीकार गरेका छन् भने मुख्यमन्त्री तामाङले प्रधानमन्त्रीको स्वीकृतिमा खुसी व्यक्त गर्दै उनको उपस्थितिले यस अवसरलाई साँच्चै अविस्मरणीय बनाउने बताए।

सन् १९७५-मा सिक्किम भारतमा विलय भएको हो भने २०२५-मा यसको ५० वर्ष पूरा हुनेछ। यसैले २०२५-को राज्य दिवसलाई सिक्किमको इतिहासमा एउटा कोसेढुङ्गा मान्न सकिन्छ। “आगामी राज्य स्थापना दिवसले विशेष महत्त्व राख्छ किनकि, त्यो सिक्किमको भारतसँग विलयको स्वर्ण जयन्ती हुनेछ। यो सिक्किम भारतको २२औँ राज्य बनेको ५० वर्षको स्मरण हो। हाम्रो इतिहासमा यो लामो समयदेखि राखिएका आकाङ्क्षाहरूको पूर्ति, हाम्रा जनताका लागि नयाँ बाटो खोल्ने र हाम्रो महान राष्ट्रको लोकतान्त्रिक ढाँचामा सिक्किमको एकीकरणको प्रतीक हो। विलय हाम्रो विकासका लागि उत्प्रेरक भएको छ, यसले आधुनिक संस्थाहरू ल्याएको छ, विज्ञान र प्रविधिको विकासमा मद्दत गरेको छ, र सिक्किमको समग्र प्रगतिका लागि धेरै अवसरहरू सिर्जना गरेको छ,” मुख्यमन्त्रीले आफ्नो फेस्बुक पेजमा लेखेका छन्।

यस अवसरको सम्झनामा, सिक्किम सरकारले एक वर्ष लामो कार्यक्रमहरू आयोजना गरिरहेको मुख्यमन्त्रीले जानकारी गराएका छन्। मुख्यमन्त्री तामाङले भने, “यस ऐतिहासिक अवसरलाई मनाउन सिक्किम सरकारले ‘सुनौलो, समृद्ध र समर्थ सिक्किम’ थिममा एक वर्ष लामो कार्यक्रमको आयोजना गरेको छ, जसमा हाम्रो राज्य विलय हुनुपूर्व र विलयपछिको इतिहास झल्किन्छ।”

भेटमा मुख्यमन्त्री तामाङले जन्माष्टमीको अवसरमा प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन्। उक्त छलफलमा आगामी राज्य स्थापना दिवस समारोहमा केन्द्रित भएर राज्य सम्बन्धि विभिन्न विषयहरू समेटिएको बताइएको छ। मुख्यमन्त्री तामाङले सिक्किमका जनतालाई “टीम सिक्किम” को भावनालाई मूर्त रूप दिँदै राज्य र राष्ट्रको निरन्तर प्रगति र समृद्धिका लागि आफूलाई समर्पण गरी राज्य स्थापना दिवस उत्साहका साथ मनाउन एकसाथ अघि आउन आग्रह गरेका छन्।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *