प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन्। मोदीले फोनमा पुटिनसँग कुरा गरेका हुन्। दुवै नेताबिच रुस र युक्रेनबिच जारी युद्धबारे कुरा भएको बताइएको छ।
यसबारे मोदीले एक्समा पोस्ट गर्दै भनेका छन्, ‘आज राष्ट्रपति पुटिनसँग कुराकानी भयो। हामीले रुससँग विशेष र विशेषाधिकार प्राप्त साझेदारीलाई बलियो बनाउने उपायबारे चर्चा गर्यौ।’
यस क्रममा दुबैले रुस–युक्रेन सङ्घर्षमा आ–आफ्नो धारणा राखेको र युक्रेन भ्रमणबारे आफ्नो अन्तरदृष्टिबारे चर्चा गरेको पनि उनले बताएका छन्। पुटिनसँग आफूले भारत यो सङ्घर्षलाई अन्त्य गर्न छिटो, स्थायी र शान्तिपूर्ण समाधानका लागि प्रतिबद्ध रहेको बताएको पनि उनले पोस्टमा लेखेका छन्। मोदीले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनमा कुराकानी गरेका थिए।