गान्तोक, २७ अगस्ट: डा मङ्गलजित राई सिक्किम राज्य सहकारी सङ्घ (सिकोन)-का नयाँ अध्यक्ष बनेका छन्। सङ्घको २७ अगस्तको दिन बसेको ५९औँ बोर्ड सभाले राईलाई अध्यक्ष चयन गरेको हो। सभा आसाम लिङ्जेस्थित कार्यालयमा आयोजन भएको थियोे। सभाले सिकोनको बोर्ड अध्यक्ष र उपाध्यक्ष चयन गर्नका साथै नवगठित बोर्ड सदस्यहरुलाई लिएर कार्यकारिणी समिति गठन गरेको छ।
सभामा संस्थाका सदस्यहरूले सर्वसम्मतिले डा मङ्गलजित राईलाई अध्यक्षको पदमा र उपाध्यक्षको पदमा पूर्ण प्रसाद शर्मालाई चयनित गरेको हो। यसका साथै सभाले सङ्गठनभित्र उपसमिति लगायत कार्यकारी निर्देशक र कार्यकारी समिति गठन गर्ने प्रक्रियालाई पनि अघि बढाएको छ।
सिक्किम राज्य सहकारी सङ्घको अध्यक्ष पदमा चुनिएपछि सभालाई सम्बोधन गर्दै मङ्गलजित राईले आफूलाई संस्थानको यस गरिमामय पदमा चयनित गरेकोमा कृतज्ञता प्रकट गरेका छन्। उनले दिगो विकास र प्रगति हासिल गर्न एकता र सामुहिक प्रयासको महत्त्वलाई जोड दिँदै सुनौलो र समृद्ध सिक्किमलाई अघि बढाउन साझा लक्ष्यमा मिलेर काम गर्न सबै सदस्यहरूलाई आग्रह गरेका छन्।