पाकिम, २९ अगस्ट: बिहीबार पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत पर्ने २० माइल नजिक लोआर बरदाङको टिस्टा नदी किनारमा बम फेला परेको छ। बम फेला परेको जानकारी पाएपछि भारतीय सेनाको बम डिफ्युज टोलीले त्यसलाई ठेगाना लगाएको छ।
गत वर्षको ३ र ४ अक्टोबरमा उत्तर सिक्किमस्थित दक्षिणी ल्होनाक हिमताल फुटेपछि टिस्टा नदीमा गएको बाढीले विभिन्न स्थानबाट भारतीय सेनाको हतियार र विस्फोटकहरू बगाएको थियो। यसैक्रममा उत्तर सिक्किमको मुन्सिथाङबाट बगाएको बम बरदाङमा भेटिएको हुनसक्ने बताएइको छ।
गत वर्ष अक्टोबरको बाढीपछि टिस्टा नदी किनारका विभिन्न स्थानमा बम भेटिएको थियो। धेरै ठाउँमा भारतीय सेनाले भेटिएका बम डिफ्युज पनि गरेको थियो। टिस्टा नदीले बगाएर लगेको बिस्फोटक पड्केर पश्चिम बङ्गालको जलपाईगुडीमा दुईजनाले ज्यान गुमाएका थिए।
एक महिना अघि पनि मल्ली नजिक टिस्टा किनारमा बम फेला परेको खबर आएको थियो।