जोरथाङ, २९ अगस्ट: दक्षिण सिक्किमको जोरथाङमा एकजना ६१ वर्षीय दिव्याङ्ग महिलालाई कथित रूपमा दुर्व्यवहार गरेको र भिडियो बनाएर सोसियल मिडियामा अपलोड गरेको घटना प्रकाशमा आएको छ। घटनको कथित आरोपी १९ वर्षीय युवालाई पुलिसले पक्राउ गरेको छ।
प्राप्त जानकारीअनुसार घटना २६ अगस्टको दिन जोरथाङको एसएनटी कम्प्लेक्समा भएको थियो। पीडित महिलाकी आफन्तले पुलिसलाई दिएको रिपोर्टअनुसार आरोपीले ६१ वर्षीय दिव्याङ्ग महिलालाई शारीरिक दुर्व्यवहार गर्नसँगै भिडियो खिचेर इन्स्टाग्राममा अपलोड गरेको थियो।
पीडित महिलाकी आफन्तले दिएको एफआईआरको आधारमा पुलिसले सागर थापालाई पक्राउ गरेर हिरासतमा राखेको छ भने यस घटनामा संलग्न अन्य तीनजना नाबालिगलाई पुलिसले नियन्त्रणमा लिएर अघिको कारबाहीका लागि सम्बन्धित अदालत सामु पेश गरेको छ। आरोपी सागर थापा जोरथाङ माझिगाउँ निवासी रहेको पुलिसले जानकारी दिएको छ।
घटनाको छानबिन भइरहेको र पीडित र उनका परिवारलाई न्याय सुनिश्चित गर्न पुलिसले काम गरिरहेको बताइएको छ।