गान्तोक, ३० अगस्ट: सिक्किममा फुटबल खेल अहिले विवादको घेरामा परेको देखिएको छ। सिक्किम प्रिमियर लिगको आयोजनालाई लिएर दुईवटा समुह अघि आएपछि विवाद सुरु भएको हो। शनिबारदेखि सुरु हुने सिक्किम प्रिमियर लिग सिजन २०२४-२५ सिक्किम फुटबल एसोसिएसन (एसएफए)-ले आयोजना गर्ने भएपछि विवाद उत्पन्न भएको हो। फुटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडले सिक्किम प्रिमियर लिगको दुईवटा सिजन आयोजना गरिसकेको छ।
सिक्किम फुटबल एसोसिएसनले त्यै नाममा शनिबारदेखि टुर्नामेन्ट आयोजना गर्ने भएपछि फुटबल डेभलपमेन्ट प्राइभेट लिमिटेड (एफडीपीएल)-ले सिक्किम सरकारलाई हस्तक्षेप गर्न माग गरेको छ। यसै सन्दर्भमा एफडीपीएलले सिक्किम सरकारका खेलकुद मन्त्री राजु बस्नेतलाई पत्र लेखेर प्रतियोगितामाथि रोक लगाउन माग गरेको छ।

यसै सन्दर्भमा सिक्किम फुटबल एसोसिएसनद्वारा सिक्किम प्रिमियर लिग आयोजन गर्ने घोषणापछि राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आश्चर्य प्रकट गर्दै सङ्गठनमाथि प्रश्न गरेका छन्। उनले आफ्नो सोसियल मिडिया पेजमा लेखेका छन्, “ सिक्किम फुटबल एसोसिएसन(एसएफए)-ले छुट्टै सिक्किम प्रिमियर लिग आयोजन गर्दै गरेको जानकारी भर्खरै डिजिटल मिडिया प्लेटफार्मबाट मैले थाहा पाएँ। हामी सबैलाई विधितै छ, फुटबल खेलको प्रवर्द्धन गर्न सिक्किम राज्यमा सिक्किम प्रिमियर लिगको व्यवस्थापन फुटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडले गर्दै आएको छ। यो थाहा हुँदा-हुँदै पनि किन एसएफएले यही ब्यानरमा प्रिमियर लिग आयोजन गर्ने निर्णय लियो भन्नेबारे म गम्भीर रूपमा चिन्तित छु।”
फुटबल खेल र हाम्रा खेलाडीहरूको हितमा सबैले सद्भावका साथ एक भएर काम गर्न आवश्यक रहेको बताउँदै अनावश्यक विवाद र भ्रम सिर्जना गर्ने कामबाट जोगिनु उचित रहने मुख्यमन्त्री तामाङले बताएका छन्।