एसएफएले गर्ने भयो भोलिदेखि हुने फुटबल च्याम्पियनसिपको नाम परिवर्तन

गान्तोक, ३० अगस्ट: सिक्किम फुटबल एसोसिएसन (एसएफए)-ले शनिबारदेखि सुरु हुने फुटबल च्याम्पियनसिपको नाम सिक्किम प्रिमियर लिग राख्ने निर्णय लिएपछि विवाद सुरु भएको थियो भने आज एसोसिएसनले च्याम्पियनसिपको नाम परिवर्तन गर्ने निर्णय लिएको छ। आज फुटबल हाउस, गान्तोकमा सम्पन्न एसोसिएसनको कार्यकारी समितिको बैठकमा सर्वसम्मतिले च्याम्पियनशिपको नाम परिवर्तन गरेर एसएफए ‘ए’ डिभिजन राख्ने निर्णय लिएको एउटा प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।

शनिबारदेखि सिक्किम फुटबल एसोसिएसनले सिक्किम प्रिमियर लिग सिजन २०२४-२५-को नाममा च्याम्पियनसिप सुरु गर्ने बिहीबार बताएको थियो। यसपछि विवाद उत्पन्न भएको थियो। फुटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडले २०२३-देखि नै सिक्किम प्रिमियर लिगको नाममा प्रतियोगिता आयोजना गर्दै आएको हो।

सिक्किम फुटबल एसोसिएसनले त्यै ब्रान्डमा शनिबारदेखि टुर्नामेन्ट आयोजना गर्ने भएपछि फुटबल डेभलपमेन्ट प्राइभेट लिमिटेड (एफडीपीएल)-ले सिक्किम सरकारलाई हस्तक्षेप गर्न माग गर्दै सिक्किम सरकारका खेलकुद मन्त्री राजु बस्नेतलाई पत्र लेखेर च्याम्पियनसिपमाथि रोक लगाउन माग गरेको थियो।

यसै सन्दर्भमा सिक्किम फुटबल एसोसिएशनद्वारा सिक्किम प्रिमियर लिग आयोजन गर्ने घोषणापछि राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आश्चर्य प्रकट गर्दै सङ्गठनमाथि प्रश्न गरेका थिए। उनले आफ्नो सोसियल मिडिया पेजमा लेखेका थिए, “ सिक्किम फुटबल एसोसिएशन(एसएफए)-ले छुट्टै सिक्किम प्रिमियर लिग आयोजन गर्दै गरेको जानकारी भर्खरै डिजिटल मीडिया प्लेटफार्मबाट मैले थाहा पाएँ। हामी सबैलाई विधितै छ, फुटबल खेलको प्रवर्द्धन गर्न सिक्किम राज्यमा सिक्किम प्रिमियर लिगको व्यवस्थापन फुटबल डेभलपमेन्ट प्राइवेट लिमिटेडले गर्दै आएको छ। यो थाहा हुँदा-हुँदै पनि किन एसएफएले यही ब्यानरमा प्रिमियर लिग आयोजन गर्ने निर्णय लियो भन्नेबारे म गम्भीर रूपमा चिन्तित छु।”

यसरी विवाद सुरु भएपछि आज सिक्किम फुटबल एसोसिएसनले च्याम्पियनसिपको नाम परिवर्तन गर्ने निर्णय लिएको छ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *