पाकिम, १ सेप्टेम्बर: सिक्किमको नागरिक उड्डयन क्षेत्रका लागि खुसीको खबर आएको छ। पाकिम विमानस्थलले अब कोलकाता, दिल्ली, हैदरावाद र बैंगलोरका लागि हवाई सेवा सञ्चालन गर्ने भएको छ। यो जानकारी पाकिम विमानस्थलका निर्देशक सञ्जीव कुमार सिंहले मिडियालाई दिएका छन्।
इन्डिगो कम्पनीले आगामी अक्टोबरदेखि यो सेवा सञ्चालन गर्नेछ। यस सेवाका लागि इन्डिगो कम्पनीको उच्चस्तरीय टोलीले सेप्टेम्बरको पहिलो हप्ता पाकिम विमानस्थलको भ्रमण गर्नेछ। यसरी नै बुद्ध एयर, ब्लेड एयर, जेटविङ र स्पाइसजेट आदिको भारतका विभिन्न क्षेत्रबाट उडान भर्न पाकिम विमानस्थल तयार रहेको पनि निर्देशक सञ्जीव कुमार सिंहले जानकारी दिएका छन्।
अहिले स्पाइसजेट कम्पनीले पाकिम विमानस्थलबाट दिल्ली र कोलकातासम्म सेवा सञ्चालन गरिरहेको छ। शनिबार लोकसभा सांसद इन्द्रहाङ सुब्बा पनि पाकिम विमानस्थलको हालको अवस्थाबारे जानकारी लिन विमानस्थल पुगेका थिए।