गान्तोक, १ सेप्टेम्बरः जडीबुटीको रोपणमार्फत स्वदेशी ज्ञानको संरक्षण, स्वास्थ्य चेतना एवम् फोहोर व्यवस्थापन सम्बन्धि आम मानिसमा सचेतना जगाउन शनिवार पूर्व सिक्किमको मार्ताम खण्ड प्रशासनिक केन्द्रअन्तर्गत छुबा सरकारी निम्न माध्यमिक विद्यालयमा एकदिने कौशल विकास कार्यक्रमसँगै छुबा हर्बल बोटनिक्सको स्थापना गरियो।
होलिस्टिक हेल्थ एन्ड रिसर्च सेन्टर (एचएचआरसी)-को सहयोगमा आयोजन गरिएको यस कार्यक्रमको समन्वयक विद्यालयका शिक्षक दिपक शर्मा रहेका थिए। कार्यक्रमका मुख्य अतिथि एचएचआरसीका प्रधान निर्देशक डा अरुणकुमार प्रधान अनि विशिष्ट अतिथि गान्तोकका महकुमा पुलिस अधिकारी टाशी छोपेल भोटिया र वन पर्यावरण एवम् वन्यजन्तु संरक्षण विभाग रोङ्लीका रेञ्ज अधिकारी बेनु राई थिए। विशेष अतिथिहरूमा रोङ्लीका समाजसेवी विनोद बुच्चा, विश्वजीत गुप्ता र गायक मिलन शर्मा थिए।
कार्यक्रममा विद्यालयको हर्बल गार्डनमा विभिन्न प्रजातिका जडीबुटीका बिरुवा रोपियो जसलाई छुबा हर्बल बोटनिक्स भनी नामाकरण गरिएको छ।
मुख्य अतिथि डा अरुणकुमार प्रधानले जडीबुटी एवम् वनस्पतिको खेती एवम् संरक्षण अनि यसबाट हुने लाभबारे विस्तृत रूपमा प्रकाश पारेका थिए। यस परम्पराले स्वास्थ्य एवम् संस्कृति दुवैलाई लाभ पुऱ्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए। स्कुलकी प्रधान अध्यापिका निलम प्रधानले विद्यालयको हर्बल गार्डनलाई संरक्षित एवम् विकसित गरेर लैजाने प्रतिबद्धता जाहेर गरिन्।
विशिष्ट अतिथि टाशी छोपेल भोटियाले सिक्किममा हुने गरेका आपराधिक घटनाहरू अनि कानुनी व्यवस्थाबारे जानकारी गराएका थिए भने रेञ्ज अधिकारी बेनु राईले पर्यावरण संरक्षणको महत्त्वमाथि प्रकाश पारे। यसैगरी शिरवानी स्कुलका शिक्षक अमित सुब्बाले फोहोर व्यवस्थापनको आवश्यकतामाथि आफ्नो सारगर्भित विचार राखे।
यस अवसरमा स्कुलका विद्यार्थीहरूद्वारा सन्देशमूलक नाटकसँगै बाल गीत प्रस्तुत गरिएको थियो भने गायक मिलन शर्माले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा ईको क्लबका सदस्यवर्ग, वार्ड पञ्चायत सदस्य, स्कुल व्यवस्थापन समितिका सदस्य, शिक्षकगण, अभिभावक, विद्यार्थी र स्थानीय मानिसहरूको उपस्थिति रहेको थियो। आयोजकले उपस्थित अतिथिहरूलाई आभारसहित अभिनन्दन पनि जनाएको थियो।