गान्तोक, २ सेप्टेम्बर: सिक्किम ब्याडमिन्टन टोली नर्थ इस्ट जोन इन्टर-स्टेट ब्याडमिन्टन च्याम्पियनशिप २०२४-मा आफ्नो प्रतिभा प्रदर्शन गर्नका लागि तयार रहेको बताइएको छ। ब्याडमिन्टन एसोसिएसन अफ इन्डिया र असम ब्याडमिन्टन एसोसिएसनद्वारा आयोजना गरिने यो प्रतिष्ठित टूर्नामेन्ट असमको गुवाहाटीमा आगामी ७ सेप्टेम्बरदेखि १० सेप्टेम्बरसम्म हुनेछ।
यस च्याम्पियनसिपमा अण्डर-१३, अन्डर-१९ लगायत विभिन्न उमेर समूहरूलाई प्रतिनिधित्व गर्ने सिक्किमका कुल २४-जना युवा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। टोलीमा केटा र केटी दुवै वर्गका खेलाडीहरू समावेश छन्। खेलाडीहरूले यस प्रतियोगिताका लागि तालिम र तयारी गरिरहेको ब्याडमिन्टन एसोसिएसन अफ सिक्किमले एउटा प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।
टोलीलाई दुई अनुभवी प्रशिक्षकहरू, शेलिना राई र रिकेश राईले मार्गदर्शन गरिरहेका छन् भने व्यवस्थापकको रूपमा अर्जुन तामाङले भूमिका निर्वाह गरिरहेको बताइएको छ। ब्याडमिन्टन एसोसिएसन अफ सिक्किमले सम्पूर्ण टोलीलाई शुभकामना दिएको छ। खेलाडीहरूले आफ्नो प्रदर्शनले सिक्किमलाई गौरवान्वित गर्नेछन् भन्ने कुरामा एसोसिएसनले विश्वास पनि व्यक्त गरेको छ।