गान्तोक, २ सेप्टेम्बर: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-ले विभिन्न तहमा पार्टीका समितिहरू विघटन गरेको छ। सोमबार गान्तोकस्थित एसडीएफ भवनमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो।
पार्टीका अध्यक्ष पवन चामलिङले पार्टीको संवैधानिक अधिकार प्रयोग गर्दै केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यकारिणी समिति, जिल्ला समिति, निर्वाचन क्षेत्रस्तरीय समिति र वार्डस्तरीय समिति विघटन गर्ने निर्णय लिएको बताइएको छ। तर पार्टीको प्रशासनिक तथा कानुनी मामिला, सामाजिक सञ्जाल मामिला, प्रचारप्रसार र चुनाउ समिति भने यथावत राखिएको छ।
चामलिङले पार्टीको संरचना र रणनीतिलाई पुनर्जीवित गर्ने उद्देश्यले व्यापक पुनर्संरचना गर्ने बताएका छन्। सोमबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै उनले उक्त कुरा बताएका हुन्। नयाँ समिति र नियुक्तिको छिट्टै घोषणा गरिने उनले पार्टीका सदस्यहरूलाई आश्वासन दिएका छन्।