पाकिम, २ सेप्टेम्बरः पाकिमबाट नयाँ दिल्ली र कोलकता बाहेक हैदरावाद, बैंगलोर र गुवाहाटीको सेवा चाँडै सञ्चालन गर्ने तयारी चलिरहेको छ भने अन्तर्राष्ट्रिय सेवाका रूपमा भुटानको ड्रुक एयर र नेपालको बुद्ध एयरले पनि पाकिममा सेवा सुरु गर्नसक्ने प्रबल सम्भावना रहेको एयरपोर्ट अथरिटी अफ् इण्डियाको पाकिमका निर्देशक सञ्जीव कुमार सिंहले जानकारी दिएका छन्।
एक दिनमा लगभग एक सय विमान सेवा सञ्चालन हुने वाराणसी एयरपोर्टमा निर्देशकको रूपमा लामो अनुभव राखेका सञ्जीव कुमार सिंहले गत मई महिनादेखि पाकिम विमानस्थलमा निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन्। लगातार बाधित हुने गरेको पाकिमको विमान सेवा सुचारु र नियमित गराउन विभिन्न विमान सेवा प्रदाता कम्पनीसँग पहल भइरहेको उनले जानकारी दिएका छन्।
निर्देशक सिंहकाअनुसार सबैकुरा सामान्य रह्यो भने अक्टोबर महिनाको दोस्रो सप्ताहदेखि पाकिम विमानस्थलबाट पुनः हवाई सेवा सञ्चालन हुनेछ। यसका लागि इण्डिगो कम्पनीले तयारी गरिरहेको छ भने पाकिम विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि इण्डिगोले मागेको आवश्यक डाटा प्राधिकरणले सिक्किम सरकारको पर्यटन विभागको पक्षबाट कम्पनीलाई उपलब्ध गराइसकेको छ। सम्बन्धित डाटा समीक्षा गरेपछि इण्डिगोले अहिले व्यवसायिक पक्षको जाँच गरिरहेको र पाकिमबाट कोलकाता, दिल्ली, हैदराबाद र बैंगलोरमा सेवा सञ्चालन गराउने प्रस्ताव एयरपोर्ट अथरिटी अफ इण्डियाको पक्षबाट इण्डिगोलाई दिइएको उनले बताए। यस बाहेक इण्डिगोलाई पाकिमदेखि काठमाडौँ विमान सेवा सञ्चालनको पनि सुझाउ दिइएको छ।
अर्कोतिर पाकिम विमानस्थलबाट फेरी सर्भिस (ferry service) सञ्चालनका लागि ब्लेड एयरलाई प्रस्ताव दिइएको र आवश्यकता परेको खण्डमा चार्टर सेवा उपलब्ध गराउने पहल पनि भएरहेको छ। पाकिमबाट बागडोगराका लागि हुने फेरी सर्विसका लागि एयरपोर्ट अथरिटीले सिक्किम सरकारमा एउटा प्रस्ताव दिइएको जो विचाराधीन रहेको निर्देशक सिंहले जानकारी दिएका छन्।
अन्तराष्ट्रिय सेवाअन्तर्गत पाकिमबाट नेपालमा सेवा सञ्चालनका लागि बुद्ध एयरले जुलाईमा नै सर्वेक्षण गरिसकेको छ भने नोभेम्बर महिनाभित्र जेटविङ्सले पाकिम-गुवाहाटी सेवा सुरु गर्नसक्नेछ।