सिक्किम राज्य सहकारी सङ्घका नवनिर्वाचित अध्यक्ष डा मङ्गलजित राईसहित अन्य पदाधिकारीहरूले लिए सपथ

पाकिम, ४ सेप्टेम्बर: सिक्किम राज्य सहकारी सङ्घका नवनिर्वाचित अध्यक्ष डा मङ्गलजित राई, उपाध्यक्ष पूर्णप्रसाद शर्मालगायत सङ्घको निर्देशक मण्डलीका सदस्यहरूले आफ्नो पदको शपथ लिएका छन्। बुधबार पाकिम जिल्लाअन्तर्गत सिक्किम राज्य सहकारी सङ्घको कार्यलय परिसरमा स्थित प्रेक्षागृहमा आयोजित शपथ ग्रहण समारोहमा सिक्किम सरकारको सहकारिता विभागकी सचिव ग्लोरिया नाम्छुले नवनिर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराएकी थिइन्।

कार्यक्रममा सङ्घका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्ष बाहेक शिक्षा तथा प्रशिक्षण शाखाका अध्यक्ष हेमन्तकुमार दाहाल, सहकारी विकास शाखाकी अध्यक्ष विष्णुकुमारी मगर, सङ्घका निर्देशक मण्डलीका कार्यकारी निर्देशक हर्कबहादुर गुरुङलगायत निर्देशक मण्डलीका सदस्यहरू अनिलकुमार नेपाल, कल्पना गुरुङ, सानु भोटिया, छुडुप लेप्चा र छिरिङ डोमा भोटियाले आफ्नो पदको शपथ लिएका थिए। सङ्घका नयाँ पदाधिकारीहरूको कार्यकाल पाँच वर्षको हुनेछ। सिक्किम राज्य सहकारी सङ्घ सिक्किममा भएका सम्पूर्ण सहकारी संस्थाहरूको छाता सङ्गठन हो।

 

शपथ ग्रहणपछि नवनिर्वाचित अध्यक्ष डा मङ्गलजित राईले आफ्नो सम्बोधनको क्रममा सिक्किम सरकारको सपना सुनौलो सिक्किम समृद्ध सिक्किमलाई सफल पार्नमा सहकारी क्षेत्रको पनि ठूलो योगदान हुनसक्ने बताए। सहकारी क्षेत्रमा आफ्नो २२ वर्षको अनुभव रहेको बताउँदै उनले अब सङ्घले सरकारलाई माग्ने मात्रै होइन तर सरकारलाई दिने पनि काम गर्ने बताए। सिक्किम सहकारी ऐन, १९७८-मा शपथ ग्रहणको कुनै प्रावधान नरहेको भन्दै यो ऐनलाई संशोधन गरेर शपथ ग्रहणलाई समावेश गरिनुपर्ने सुझाव पनि उनले सरकार समक्ष राखे। सन् २००२-मा स्थापित यो सङ्घमा अहिलेसम्म ३२५ वटा सहकारी संस्थाहरू मात्रै आबद्ध रहेको उनले बताए। तर राज्यभरीमा लगभग ३७९७-वटा सहकारी संस्थाहरू हुँदा पनि केवल ३२५ वटा संस्था मात्रै सङ्घमा आबद्ध हुनु दुःखको विषय रहेको राईले बताए। उनले प्रत्येक ग्राम पञ्चायतमा बहुउद्देश्यीय सहकारी संस्था स्थापित गरिनुपर्ने सुझाव पनि राखे।

सरकारले सङ्घलाई कोर्पस फन्ड दिनसके राम्रो हुने बताउँदै सङ्घको कानुन संशोधन गरेर सङ्घले आफै व्यापार गर्न पाउने बनाउन सकेमा अन्य विभागका लागि पनि प्रशिक्षण केन्द्र चलाउन सक्ने अध्यक्ष राईले बताए। अब सङ्घले चाँडै सिक्किम सहकारी युवा शाखा खोल्ने र त्यसमा युवाहरूलाई संलग्न गराउने पनि उनले बताए।

कार्यक्रममा सिक्किम सरकारका ग्रामीण विकास विभाग तथा सहकारिता विभागका मन्त्री अरुणकुमार उप्रेती उपस्थित थिए। उनले नवनिर्वाचित सदस्यहरूलाई शुभकामना दिँदै सङ्घले कुनै माग विभाग समक्ष ल्याए त्योमाथि काम गर्ने आश्वासन पनि दिए।

कार्यक्रममा सिक्किम सरकारका वन विभागका मन्त्री पिन्चो नामग्याल लेप्चा, मल्ली निर्वाचन क्षेत्रका विधायक नरबहादुर प्रधानलगायत अन्यको उपस्थिति रहेको थियो।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *