गजक्कै परेका नवनिर्वाचित विधायकहरूले मायालाग्दो सोझा मानिसहरू (जनता)-लाई “भोट नदिनेहरू किन मेरोमा अनुहार देखाउनु आइरा’को” भन्ने खाल्के गाली गरेर रातोपिरो, निलो-पहेँलो, काल्लै बनाएर घर फर्काएका भिडियोहरू आँखाभरि झल्झली छन्। ती मार्मिक र वेदनादायक दृश्यहरूले दु:खेको मनको निको हुनु नपाई अब अर्का किसिमका भिडियोहरू भटाभट निस्कन थाले – पराजित विपक्षी नेताहरू मुख्यमन्त्री र उनकी पत्नीसित मुसुक्क मुस्कुराइरहेका! आह, स्वागतको न्यानोपन! त्यो मिलनको रमाइहट! आशाको उत्स्सुकता! नौलो मित्रताको आतुरता! असुरक्षित जनता, सुरक्षित नेता। जनताले भोट लगाएर मात्र हक पाउने। भोट हार्नेलाई लगायो कि जित्नेलाई त्यसको प्रमाण दिने अधिकार पनि नेतासित। प्रजातन्त्रमा भोट जतासुकै लगाऊँ, सरकारले त जनताको काम त केही नछुटाई गर्नुपर्ने होइन भन्ने प्रश्न गर्ने न मिडियामा हुतीकार छ, न जनताको अधिकार छ!
नेताहरूले चाहिँ घाँटीको आवाजले नपुगेर भुँडीको सास समेत उगेलेर तीब्रता र कहिलेकाहीँ क्रूरताका साथ खुला रूपमा एकार्कामाथि आक्रमण गर्दा अनि चरित्रमाथि समेत आक्रमण गर्दा पनि आखिरमा छेउमा पुगेर एउटा फोटो खिचेपछि सबै ठीक भइहाल्ने खेल नै राजनीति हो। योभन्दा ठूलो राजनीति सिक्किमले नदेख्ने नै रहेछ। उहिलेको कुरा भनेको उहिलेकै हो। नेताहरूको नेतागिरीसित नसकेर हत्तु भएका बूढाहरू आखिरमा यसरी फत्फताउँथे – “आखिरमा नेता-नेता मिलिहाल्छ, जनता त चिल्लै।” आजकल त जनता चिल्लै मात्र भए त हुन्थ्यो नि, क्रूर नेताहरू र खुल्ला क्यामेराको चपेटमा कति जनता त काल्लै-निल्लै पनि हुनु परिरहेछन्। विचरा निमुखा, लाटा, नादान जनता! बरु आफ्नै सुतिखेती गरिखानु नि। अपमानित हुन किन धाइरहेका नेताको दलानमा? तर यस्तो कष्ट सहेर त्यहाँ धाउनेहरूका अव्यक्त कथा-व्यथाहरू कस्ता होलान्?
यो प्रजातन्त्र होइन, नेतातन्त्र हो। हुन त “प्रजा” शब्द नै गलत छ। प्रजा राजाका रैती हुन्। राजाको शासनमुक्त देशको नागरिकलाई प्रजा भनिन्दैन वा नभनिनुपर्ने हो। लोकतन्त्र भनिनुपर्ने। तर शब्दले के नै नाप्ला ? कतिजना किताबको नाममा तास मात्र पढ्ने नेताले जीवनभरि पढी नसक्ने संविधानले त थामिनसक्ने नेताहरू छन् हाम्रो देशमा। संविधानका हजारौँ गहन शब्दहरूलाई बङ्ग्याई-टुङ्ग्याई व्यवस्था-कानुनहरूसित खाइखेली ख्याक नेताहरूलाई स-सानो शब्दको कुरा गरेर किन बठ्याइँ देखाइरहनु?
विपक्षको सबैभन्दा ठूलो खाँचो परेको यो संकटपूर्ण मोड़मा जनतालाई एक्लै पार्नु नेताहरूको आफ्नो प्रजातान्त्रिक अधिकार हो भन्नु राजनीतिक अपराधको गम्भीरतालाई कम आँक्नु हो। नेताहरू पनि जनता नै हुन् अनि उनीहरूको पनि अधिकार हुन्छ, एउटा पार्टी छोड्ने, अर्को पार्टीसित जोडिने। तर नेताले आफ्नो अधिकारलाई तिलान्जली दिएर जनताको पक्षमा उभिनु समयको माग मात्र होइन तर आदर्श नेतृत्वको विशेषता हो, जसको सिक्किममा अनिकाल छ।
जनता कमजोर र लाटो भएकोले नै लोकतन्त्र छिप्पिएर नेतातन्त्र भइसकेको हो। जनता चुनावअघि दिनभरि घोक्रो फुलाउँदै नारा कुर्लन्दै गाउँ-सहर डुलेर नेताको घरमा मासुभात र अरू के के हुन्छन्, खाए। चुनावपछि सबै बिसाए। चुनावको परिणाम आएपछि फेरि जित्ने नेताहरूकहाँ जाँदा भाग्यमानीहरूले फिका चिया र बिस्किट-सिस्किट, भुजा-चिउरा पाए, अभागीहरूले उभीउभी गाली खाए अनि घरतिर लागे। यी सब पनि जनताकै सोचको परिणाम हुन्। नेतालाई इश्वरसमान मानेर सबै कुरामा नेतामाथि नै भर पर्ने अनि नेताले भनेपछि सबै कुरा एकातिर पन्स्याएर उनैको पछि कुदेको कुदैकै गर्ने जनताको जीवनमा यो दुर्घटना नघट्नु र मातेर लट्ठै परेको चालकले हाँकेको गाडी दुर्घटनामा नपर्नुको सम्भावना बराबर हुन्छ। तर अब हेरौँ चुनावपछि नेताहरूको अवस्था कस्तो हुन्छ। अब्बुइ, नेता भनेको नेतै हो। चिया-बिस्किट खाने होइन। नेता-नेता चाहिँ पाँच-तारे हुटेलमा ‘डिनर’ खाएर चुनावको थकानलाई मेटाउँछन्। उनीहरूको पैसाले उनीहरू जेसुकै गरून्, हामीलाई केको खसखस ! ठिकै हो तर यो डिनरको कमाललाई हेर्नैपर्छ। डिनर भनेको चिया-बिस्किट जस्तो डरसरी हतार-हतार खाने चिज होइन। यो त गजधम्म बसेर गफ लड़ाउँदै, गलल हाँस्दै, एक-अर्काको ढाडमा धाप मार्दै बिस्तारै लिने अद्भुत भोजन हो। यो भोजनले सबै भनाभैरीको चोट मेटाउँछ। धमास-धम्कीको रिस-राग साम्य गराउँछ। आइपर्ने दुर्दशा, दुर्दिन वा दुर्गातिका रोगहरू सबै च्वाट्टै निको पार्छ। यस्तो जन्डा चमत्कारी हुन्छ यो डिनर!
डिनर-सिनर चल्दै गर्छ, तर जनतालाई किन किनार लगाएको, सो कुरा चाहिँ कसले गरिदिने? यसचोटि चुनावमा अहिले बत्तीसमा बत्तीसै सरकारमा छन्। विपक्षको सबैभन्दा ठूलो खाँचो परेको यो संकटपूर्ण मोड़मा जनतालाई एक्लै पार्नु नेताहरूको आफ्नो प्रजातान्त्रिक अधिकार हो भन्नु राजनीतिक अपराधको गम्भीरतालाई कम आँक्नु हो। नेताहरू पनि जनता नै हुन् अनि उनीहरूको पनि अधिकार हुन्छ, एउटा पार्टी छोड्ने, अर्को पार्टीसित जोडिने। तर नेताले आफ्नो अधिकारलाई तिलान्जली दिएर जनताको पक्षमा उभिनु समयको माग मात्र होइन तर आदर्श नेतृत्वको विशेषता हो, जसको सिक्किममा अनिकाल छ।
कुरा आउँछ – उहिले पनि त हरुवा नेताहरू गत वर्षको अनप्रत्याशित टिस्टा-बाढीको तीब्रता उच्छिन्ने गरी जितुवा पार्टीतिर बगेर गएकै हुन्, अब जानेहरूलाई किन हकार्नु? कुरो सही हो। फ्लाईवेट, बेंटमवेट, वेल्टरवेट, मिडलवेट, क्रूजरवेट, र हैवीवेट सबै जान्छन्, जान पाउँछन्। तर यदि सिक्किमले यो प्रथालाई हेर्ने नजरिया र यसलाई व्याखा गर्ने भाष्य नबद्ले सिक्किमको भविष्य राजनीतिको हातबाट कहिले उठ्न नसक्ने गरी पछारिने छ। कमसे कम, यस्तो घटनालाई मिडियाले पनि रुलिङ्ग पार्टीमा सामेल हुनु नेताको ठूलो उपलब्धि हो र जोइन गराउने पार्टीको जीत हो भन्ने किसिमको सन्देश जाने पाराले पेश नगर्नुपर्ने। राजनीतिक प्रतिस्पर्धालाई मजबुत र स्वस्थ बनाउनका लागि यस्तो प्रथालाई अनि कुनै पनि नेतृत्वको फ्यातुलोपनलाई कटाक्ष वा आलोचना गर्दै पेश गर्ने साहस गर्नुपर्छ होला – कोही न कोहीले। हाम्रो देशको मेनस्ट्रिम राजनीतिमा यस्तो प्रथाको धजिया उडाउने एकदुईवटा भए पनि मिडियाहरू छन्। अर्को कुरा, जुन पार्टी छोडिन्छ, त्यसलाई खुचिङ्ग गर्ने किसिमको भन्दा पनि जुन जनताले ती नेताहरूलाई पूर्ण भरोसा गरेर दिलोज्यानले समर्थन गरी सघाएका थिए, उनीहरूको हिम्मत बढ़ाएका थिए, उनीहरूको मुद्दालाई उठान गरेर यस्तो खबर छापिनुपर्ने – तर यस्तो भएको छैन। पार्टी बदल्नेहरूलाई विश्व कप नै जितेर ल्याएका विजेताहरूलाई जस्तै अचाहिँदो प्रमुखता दिइँदै राजनीतिको खस्कँदो धरातललाई झन् कमजोर गराइने काम हुँदैछ। खबरको अनिकाल छ भन्दैमा जेसुकैलाई हेडलाइन बनाइहाल्ने आतुरतालाई काबुमा राख्नु सकिन्छ।
अहिले बोलिदिनुपर्ने विषयहरू थुप्रै र गम्भीर छन्। छ महिनादेखि तलब नपाई बसेका जवान कर्मचारीहरू, २०२१-देखि राज्य लोक सेवा आयोग (SPSC)-को अधुरो परीक्षा कुरेर बसेका अनगन्ती बेरोजगार युवाहरू, मेमोरेन्डम थापेर आफ्नो जागिर स्थायीकरणको प्रकिया सुरु हुन्छ कि भनी कुर्ने असङ्ख्या जनता आदि। बोलिदिनुपर्ने विपक्षी नेताहरू हुन्। अस्ति एसिस्टेन्ट प्रोफेसोरहरू अलिकति बोलिपठाउँदा के नतिजा भयो, सो देखेर अरू त अब मारिकाटे बोल्ने होइनन्। बरु उकुसमुकुस भएर घाँटी फुटोस्, बोल्ने होइनन्। यदि एसिस्टेन्ट प्रोफेसोरले आफ्नो जागिर रेगुलराइज्ड भएपछि ४०,००० बढी तलब पाउने भए, चार वर्षमा झन्डै २० लाख बढी पाउने थिए। यो अङ्क उदाहरणका लागि मात्र हो। तलब खास रकम बेसी-कम्ती हुन सक्छ। त्यो वाट्सएप्प म्यासेज र माग-पत्र यति महँगो साबित भयो। इतिहासकै सबैभन्दा महँगो वाट्सएप्प म्यासेज र विन्ती-पत्र अब कसले गर्ने ? रज्यभरि सडकहरूको अवस्था हिडिनसक्नु मात्र भए त हुन्थ्यो, तर हेरिनसक्नु छ। बिजुलीको अवस्था हेरेर धिप्री बत्तीको यादमा रुने बेला आएको छ। जल-जीवन मिसनले ल्याएका सुखा पाइपहरू हेरेर बरु अलिकति बाल्टीको पानी पनि यो पाइपलाई दिएर पाइपको इज्जत बचाइदिऔँ जस्तो लाग्छ। यस्तो निरासाजनक अवस्थामा राज्यको बजेट हेर्दा यी प्राथमिक पूर्वाधार पुनर्निर्माणमा पुँजी निवेश बिलकुलै अपुग देखिन्छ। हामीसित भएको बजेट रकम सरकारी कर्मचारीको तलब र लोन ब्याज दिँदा नै आधामा बढी खर्च हुँदैछ। यी विषयमाथि बोल्ने नेताहरू रहला के आउँदो भलमा? यो प्रश्न सिक्किमको कुनै राजनीतिक दलहरूको होइन तर राज्यकै अस्तित्व संकट (existential crisis)-को विषयसित जोड्नुपर्छ। खेला हबे होइन खेला बोंधो कोरो भन्ने बेला हो यो। खेला फेरि २०२९-मा खेल्दा भइहाल्छ।
‘नेता रााजमा नेतै राजा’-लेख पढेर खुशी लाग्यो। यहाँको यस्ता रोचक लेखहरु निरन्तर पढ्न पाइयोस् ।