सिलिगुडी, ५ सेप्टेम्बर: सिक्किमका कवि प्रवीण राई जुमेलीलाई तेस्रो शशिप्रभा स्मृति पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। जुमेलीका कविता सङ्ग्रह मेडिटेसनः पीड़ा र प्रस्थानमा नवोन्मेषी चेतना, प्रयोगपरकता र मानविक संवेदना रहेको भन्दै शीर्ष ज्युरीले यसवर्षको शशिप्रभा स्मृति पुरस्कार दिइने निधो गरेको हो। हाम्रो किताब घरले वर्षेनी प्रदान गर्दै आएको उक्त पुरस्कार भारतभरिबाट प्रकाशित कुनै पनि एक उत्कृष्ट नेपाली पुस्तकलाई दिइने गरेको छ।
साहित्यिक पुरस्कार लबीमुक्त हुनुपर्ने र पारादर्शिता पूर्वक कृतिको छनौट गरिनुपर्ने कुरामा जोड दिइँदै सुरु गरिएको उक्त पुरस्कारको निम्ति प्रत्येक साल शीर्ष दस पुस्तक पनि सार्वजनिक गरिने गरिएको छ। पुरस्कारले पठन संस्कृतिको विकासमा पनि थप टेवा पुर्याउनुपर्ने र साहित्यिक पुरस्कार जहिले पाठक मैत्री हुनुपर्ने कुरामा जोड दिइँदै किताब घरले उक्त साहित्यिक पुरस्कार सुरु गरेको बताइन्छ।
पुरस्कारका निम्ति यसचोटि लेखक संगीत नेम्वाङको अगुवाईमा रहेको टोलीले शीर्ष दस पुस्तक छनौट गरेको थियो भने त्यसमध्ये मेडिटेसनः पीड़ा र प्रस्थानलाई शीर्ष ज्युरी क्रमैले लेखक विन्द्या सुब्बा, कवि/ समालोचक सुधीर छेत्री र बलराम सापकोटाले श्रेष्ठ पुस्तकको रूपमा छनौट गरेको छ। जसको घोषणा आज सालबारीमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ लेखक ज्ञानेन्द्र खतिवाड़ा, किताब घरका संयोजक छेवाङ योञ्जन र बबिता मादेनले गरेका छन्।
आख्यानकार विजय बान्तवा कैलाशीले आफ्नो स्वर्गीय घर्मपत्नी शशिप्रभा राईको स्मृतिमा सुरू गरिएको उक्त पुरस्कारमा नगद पचास हजार रूपियाँ सहित प्रशस्ति पत्र प्रदान गरिने गरेको छ।