सोरेङ, ५ सेप्टेम्बर: पत्नीको हत्या गरेको आरोपमा पुलिसले पतिलाई पक्राउ गरेको छ। नयाँ बजार थाना अन्तर्गत बैगुने बीएसी माथिको जङ्गलमा महिलाको शव भेटिए पछि सनसनी मच्चिएको थियो। घटनाको सुचना प्राप्त हुनसाथ पुलिसले जाँचको सुरु गरेको थियो। फलस्वरूप, नयाँ बजार पुलिसले हत्यामा संलग्न अनि फरार आरोपीलाई आज दिउँसो पक्राउ गरेको छ। घटना सोरेङ जिल्ला अन्तर्गत पिपले नजिकै बैगुनेको हो।
मूलरूपमा नेगी बस्ती दार्जिलिङ निवासी अनि हाल बैगुनेमा बस्दै आएकी ४७ वर्षीय मीरा राईलाई ढुङ्गाले कुच्याएर हत्या गरेको आरोपमा हेमचन्द्र राई (४५)-लाई पुलिसले पक्राउ गरेको हो। आरोपीलाई पुलिसले हिरासतमा लिएर केरकार गरिरहेको बताइएको छ। आरोपी विरुद्ध पुलिसले नयाँ बजार थानामा भारतीय न्याय संहिताको धारा १०३ अन्तर्गत मामिला दर्ता गरिएको छ।
सोरेङ जिल्लाका पुलिस अधीक्षक नहकुल प्रधानले दिएको जानकारीअनुसार अभियुक्त पति हेमचन्द्र राई आफ्नी पत्नीको हत्या गरी घटनास्थलबाट फरार भएका थिए। अभियुक्त राईलाई नयाँबजार पुलिसले व्यापक खोजीपछि पक्राउ गरिएको हो। अभियुक्तलाई हाल नयाँबजार पुलिस थानामा हिरासतमा राखिएको अनि अघिल्लो जाँचको निम्ति हिरासत माग्न भोलि अदालतमा पेश गरिने भएको बताइएको छ।
हिमदर्पणको सहयोगबाट तयार पारिएको रिपोर्ट