गान्तोक, ६ सेप्टेम्बर: उत्तर पूर्वी क्षेत्रको विकास मन्त्रालय (डोनर) ले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राखेका तीनवटा महत्त्वपूर्ण मागहरूलाई स्वीकृत गरेको छ। सिक्किम भ्रमणमा रहेका केन्द्रीय सञ्चार र डोनर मन्त्री ज्योतिरादित्य सिन्धियाले शुक्रबार मुख्यमन्त्री र विभागीय प्रमुखहरूसँग जारी परियोजनाहरूको समीक्षा गर्न र राज्यको भविष्यको विकास योजनाहरूबारे छलफल गर्न महत्त्वपूर्ण बैठक गरेका थिए।
शुक्रबार गान्तोकस्थित सम्मान भवनमा एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्रालयले सिक्किम सरकारले राखेका तीनवटा प्रमुख प्रस्तावलाई स्वीकार गरेको केन्द्रीय मन्त्री सिन्धियाले जानकारी गराए। यसमा मङ्गन अस्पतालको विकासका लागि ६ करोड रुपियाँ, राज्यमा नयाँ मेडिकल कलेजको स्थापनाका लागि १७० करोड रुपियाँ र नाम्ची जिल्ला अस्पतालमा चिकित्सा उपकरण खरिदका लागि १५० करोड रुपियाँ रहेका छन्।
मन्त्री सिन्धियाले राज्यको बढ्दो स्वास्थ्य क्षेत्रका आवश्यकताहरूलाई स्वीकार गर्दै सिक्किममा स्वास्थ्य पूर्वाधार वृद्धि गर्न केन्द्र सरकारको प्रतिबद्धतामा जोड दिए। यी प्रस्तावहरूको स्वीकृतिले सहरी र ग्रामीण दुवै समुदायलाई समर्थन गर्दै यस क्षेत्रमा चिकित्सा सेवाहरूमा उल्लेखनीय सुधार गर्ने अपेक्षा गरिएको छ।