गान्तोक, २३ अगस्ट: एउटा बहु-अनुशासनात्मक टोलीले आगामी २८ अगस्टदेखि १४ सेप्टेम्बरसम्म उत्तर सिक्किममा उच्च जोखिममा रहेका हिमनदी ताल (Glacial Lakes)-हरूको विस्तृत संवेदनशीलता अध्ययन गर्ने तयारी गरेको छ। हिमनदी ताल संवेदनशीलता अध्ययन र सामुदायिक पहुँचको यो संयुक्त अभियान सिक्किम सरकारको भूराजस्व एवम् आपदा व्यवस्थापन विभागअन्तर्गत सिक्किम राज्य आपदा व्यवस्थापन प्राधिकरण (SSDMA)-ले गर्ने भएको छ। ३२-जना सदस्यको संलग्नता रहने यो अभियानलाई मुख्यमन्त्री प्रेमसिंह तामाङले फ्ल्याग अफ गर्ने बताइएको छ।
शुक्रबार गान्तोकमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै भूराजस्व तथा आपदा व्यवस्थापन विभागकी राहत आयुक्त सचिव नम्रता थापाले यो महत्वपूर्ण परियोजनामा भारतीय सेना र आईटीबीपीलगायतका विभिन्न राज्य विभाग, केन्द्रीय निकाय र प्रमुख सरोकारवालाहरू संलग्न रहेको जानकारी गराइन्। यो अभियान हिमनदी तालहरूको जोखिम मूल्याङ्कन गर्न र यस क्षेत्रमा सामुदायिक तयारी बढाउनका लागि एउटा सहयोगी प्रयास रहेको उनले बताइन्। यसमा सिक्किम विश्वविद्यालय, भारतीय भूगर्भ सर्वेक्षण र केन्द्रीय जल आयोगका विज्ञहरू पनि सहभागी हुनेछन्।
यो अध्ययन अभियान मुख्यतया बाढीका लागि परिचित ताल प्रकोप भएका प्रमुख हिमनदी तालहरूमा केन्द्रित रहने भूराजस्व तथा आपदा व्यवस्थापन विभागकी राहत आयुक्त सचिवले बताएकी छन्। बहु-अनुशासनात्मक टोलीद्वारा मूल्याङ्कन गरिने यी हिमतालहरूमध्ये खाङ्चुङ छो, साको छु र गुरुदोङ्मारका तीन तालहरूको समुह आदि रहेका छन्। यी तालहरूलाई सम्भावित जोखिमको रूपमा पहिचान गरिएको छ भने विस्तृत विश्लेषण आवश्यक छ। अध्ययनका साथै यो अभियानले सामुदायिक संलग्नता र तयारीमा पनि जोड दिने बताइएको छ।
यसैको एक भागको रूपमा थाङ्गुमा एउटा सामुदायिक आउटरिच कार्यक्रम पनि सञ्चालन गरिने जसमा सहभागी ग्रामीण मूल्याङ्कन (PRA) प्रस्तुत गरिने बताइएको छ। यो स्थानीय समुदायलाई विपद् पूर्व तयारी योजनामा संलग्न गर्न प्रयोग गरिने सहभागी विधि हो। पीआरएमा, हिमनदी ताल फुटेको बोला कसरी सबैभन्दा सुरक्षित र सबैभन्दा प्रभावकारी निकासी मार्गहरू पहिचान गर्ने भन्ने विषयमा स्थानीय बासिन्दाहरूले विशेषज्ञहरूसँग सहकार्य गर्नेछन्। यस आउटरिचको लक्ष्य स्थानीय समुदायलाई सम्भावित प्रकोपहरूमा प्रभावकारी रूपमा प्रतिक्रिया दिन आवश्यक ज्ञान र उपकरणहरूद्वारा सशक्त बनाउनु रहेको भूराजस्व तथा विपद् व्यवस्थापन सचिवले बताइन्।
विज्ञान तथा प्रविधि विभागका सचिव सन्दीप ताम्बेले अभियानको प्राविधिकतालाई प्रकाश पार्दै चार-चरण दृष्टिकोण अन्तर्गत सिक्किमका पहिचान गरिएका १६-वटा हिमनदी तालहरूको विस्तृत अध्ययन सुरु गरिएको जानकारी दिए।
यस अभियानमार्फत विभिन्न विभाग र निकायका विज्ञहरूले जमिनी तहमा रहेका हिमतालहरूको अध्ययन गर्नेछन्। यो अध्ययन सकिएपछि कुनकुन हिमतालहरू त्यसका वरिपरि हिमपहिरो र स्लाइडको संवेदनशीलतालाई ध्यानमा राख्दै विपद्को जोखिममा रहेका छन् भन्ने कुरा थाहा पाइने ताम्बेले बताएका छन्। रिपोर्टका आधारमा अधिकारीहरूले न्यूनीकरण योजनाहरू तयार गर्ने र हिमतालको पानीको निकासलगायत आवश्यक उपायहरू अघि सार्ने बताइएको छ।
यस अभियानको समग्र समन्वय र कार्यान्वयनको जिम्मेवारी सिक्किम राज्य आपदा व्यवस्थापन प्राधिकरणको रहेको छ। एसएसडीएमएको जिम्मेवारीमा लजिस्टिक व्यवस्थाको निरीक्षण गर्नु, विभिन्न राज्य र केन्द्रीय एजेन्सीहरूसँग समन्वय गर्नु र अध्ययनका निष्कर्षहरूले राज्यको व्यापक विपद् व्यवस्थापन र न्यूनीकरण रणनीतिहरूमा योगदान पुर्याउने कुरा सुनिश्चित गर्नु रहेको छ।
पत्रकार सम्मेलनलाई खानी तथा भूगर्भ विभागकी सचिव डिक्की याङ्जोम, विज्ञान तथा प्रविधि निर्देशक डीजी श्रेष्ठ र एसएसडीएमएका निर्देशक प्रभाकर राईले पनि सम्बोधन गरेका थिए ।