मंगन, १ सेप्टेम्बर: उत्तर सिक्किममा रहेका हिमतालहरूको संवेदनशीलता र त्यसको प्रकोपबाट हुने बाढीको खतरालाई अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोली आज लाचुङको १५,७०० फिट उचाइमा रहेको तेनचुङ्खा हिमतालमा पुगेको छ।
टोली लाचुङ जुम्साको साथमा गएको थियो। भ्रमण अघि स्थानीय लाचेनका भिक्षुहरूले कम्तिमा चारवटा स्थानमा आध्यात्मिक र परम्परागत प्रार्थना गरेको बताइएको छ।
भ्रमणअघि आयोजित पूर्व प्रस्थान भेटघाटमा टोलीलाई नेतृत्व गरिरहेका डा सन्दीप ताम्बे र जुम्साका प्रतिनिधिले भ्रमण गर्दा टोलीले ख्याल गर्नुपर्ने सबै कुराहरूबारे जानकारी गराएका थिए। यो ताललाई स्थानीय तथा सिक्किमे जनताले पूजनीय र पवित्र मान्छन्।
अध्ययन टोलीले आइटीबीपीलाई सहयोगका लागि कृतज्ञता व्यक्त गरेको छ। अध्ययन टोलीले जीपीआर परीक्षण, विद्युतीय प्रतिरोधात्मक परीक्षण, जियो मोर्फोमेट्री, लेक डिस्चार्ज मापन आदि सफलतापूर्वक सञ्चालन गरेको बताइएको छ।
हिमताल प्रकोपबाट हुने बाढीको जोखिममाथि अध्ययन गर्न सरकारको अन्तर-विभागीय अध्ययन टोली गान्तोकबाट शनिबार उत्तर सिक्किम प्रस्थान गरेको थियो। यो टोलीले आगामी १४ सेप्टेम्बरसम्म उत्तर सिक्किममा रहेर उच्च जोखिममम रहेका १६-वटा हिमतालहरूको संवेदनशीलताको अध्ययन गर्नेछ।