हिमतालबाट हुने बाढीको जोखिम अध्ययन गर्न सरकारको अन्तर-विभागीय टोली उत्तर सिक्किम प्रस्थान

गान्तोक, ३१ अगस्ट: हिमताल प्रकोपबाट हुने बाढीको जोखिममाथि अध्ययन गर्न सिक्किम सरकारको अन्तर-विभागीय टोली शनिबार उत्तर सिक्किम प्रस्थान गरेको छ। आगामी १४ सेप्टेम्बरसम्म उत्तर सिक्किममा रहेर उच्च जोखिमका छःवटा हिमतालको अध्ययनका लागि तयार पारिएको अन्तर-विभागीय ३५ सदस्यीय टोलीलाई शनिबार बिहान लाचेन मगन निर्वाचन क्षेत्रका विधायक तथा सिक्किम सरकारको समाज कल्याण विभागका मन्त्री साम्डुप लेप्चाले फ्ल्याग अफ गरे।

सिक्किम राज्य आपदा प्राधिकरण र विज्ञान तथा प्रविधि विभागले संयुक्त रूपमा आयोजना गरेको यस अध्ययन टोलीमा विज्ञान तथा प्रविधि विभाग, खानी एवम् भूविज्ञान विभाग, जलशक्ति विभागसहित सिक्किम विश्वविद्यालयको जियोग्राफी विभाग र जियोलोजिकल विभाग अनि जोलोजिकल सर्वे अफ इन्डियाका विशेषज्ञहरूको सहभागिता रहेको छ।

यस अभियानले छःवटा उच्च जोखिममा रहेका हिमतालहरूको अध्ययन गर्ने छ। यसमा तेनचुङ्खा, खाङ्चुङ छो, लाचेन खाङ्से, लाचुङ् खाङ्से, ला छो र साको छो आदि हिमतालको विस्तृत संवेदनशीलता मूल्याङ्कन गरिने योजना रहेको छ। समय मिलेमा अन्य केही तालहरूको पनि मूल्याङ्कन गर्ने प्रयास गरिने जानकारी दिइएको छ। गुरूदोङमार ए, बी र सी नामक तीनवटा उच्च जोखिमका तालहरू स्थानीय मानिसहरूको भावनाका पवित्र ताल भएकाले यस अभियानमा नसमेटिएको बताइएको छ।

अभियानका विशिष्ट उद्देश्यहरूमा, हिमतालको भोल्युम, गहिराई, र अनुदैर्ध्य प्रोफाइलको मूल्याङ्कन गर्न बाथिमेट्री सर्वेक्षण प्रयोग गरेर यसको भौतिक आयामहरूको जानकारी लिने, विद्युतीय प्रतिरोधात्मक टोमोग्राफी सर्वेक्षण (ERT) र ग्राउन्ड पेनेट्रेटिङ् रडार (GPR)-को प्रयोग गरेर यसको स्थिरता र सम्भावित जोखिम कारकहरूको मूल्याङ्कन गर्न मोरेन बाँधको भूभौतिकीय मूल्याङ्कन गर्ने, मास मुभमेन्ट खतराको आकलन गर्न हिमनदी तालको ढलान स्थिरता मूल्याङ्कन गर्नु आदि रहेको छ। यसका साथै हिमनदी ताल र यसको छेउछाउको परिदृश्यको मोर्फोमेट्रिक सर्वेक्षण सञ्चालन गर्नु, तालको जलविज्ञान बुझ्नका लागि लेक डिस्चार्ज मापन गर्न र आउटलेट प्रवाह गतिशीलता मूल्याङ्कन गर्नु अनि उच्च रिजोल्युसन भू-भाग मोडेल निर्माण गर्न युएभि ड्रोन (UAV/Drone) प्रयोग गरेर थ्रीडी टेरेन म्यापिङ गर्नु पनि यस अभियानको उद्देश्य रहेको छ।

सम्पूर्ण अभ्यासको उद्देश्य  हिमनदीबाट उत्पन्न हुने बाढी (GLOF)-सँग सम्बन्धित सम्भावित जोखिमहरूको मूल्याङ्कन गर्नु र स्थानीय समुदाय र पूर्वाधारको सुरक्षा गर्न न्यूनीकरण उपायहरू प्रस्ताव गर्नु रहेको छ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *