व्यवसायिक किवी खेतीमा उदाहरणीय बन्दै योकसमका बुद्धहाङ लिम्बू

गान्तोक, ८ सेप्टेम्बर: सिक्किमको उर्वर कृषि भूमिमा पसिना बगाए सफलता हासिल हुँदैन भन्न सकिँदैन। यस्तै एक उदाहरण हुन्, पश्चिम सिक्किमको योकसम निवासी बुद्धहाङ लिम्बू (सुब्बा)। उनले २००९-देखि आफ्नो निजी जमिनमा किवी खेती सुरु गरेका थिए। सिक्किम सरकारको बागवानी विभागले दिएको चारवटा बिरुवाबाट किवी खेती सुरु गरेका सुब्बाले आज ‘किवी म्यान अफ् द सिक्किम’-को उपाधि प्राप्त गरिसकेका छन्। उनले उब्जाएको किवीले आज सिक्किम सँगसँगै दिल्ली, मुम्बई र बेङ्गलुरुको बजारमा वर्चस्व कायम गरिसकेको छ।

चारवटा बिरुवाबाट किवी खेती सुरु गरेका सुब्बाको जमिनमा अहिले चारैतिर किवी नै किवी मात्र छन्। अहिले उनको किवी खेती हेर्नु पर्यटकहरूले प्रतिव्यक्ति २० रुपियाँ गरेर शुल्क पनि तिर्नुपर्दछ भने दैनिक रूपमा सयौँको सङ्ख्यामा विद्यार्थीहरू किवी खेतीको अध्ययन गर्न उनको बारीमा पुग्ने गर्दछन्। योकसमको बुद्ध अर्ग्यानिक किवी गार्डन नामले प्रसिद्ध उनको किवीबारीमा सिक्किमका विभिन्न विद्यालयका विद्यार्थीहरूसँगै देशका विभिन्न प्रान्तबाट अनुसन्धानकर्ताहरू आउने गर्दछन्। योकसम यसै पनि पर्यटकको आकर्षणको केन्द्रबिन्दु भएकोले गर्दा यहाँ आउने पर्यटकहरूको एउटा गन्तव्यको रूपमा उनको किवी बारी पनि भएको छ। उनको सफलता देखेर अहिले योकसमका २९ परिवारले पनि किवी खेती व्यावसायिक रूपमा सुरु गरिसकेका छन्।

 

सुब्बाले ५०० रुपियाँ प्रतिकिलो गरेर किवी बिक्री गर्दैछन् भने किवीबाटै उनले लाखौँ रुपियाँ आम्दानी पनि गर्दैछन्। उनले दिएको थप जानकारीअनुसार देशका विभिन्न बजारहरूबाट अहिले उनलाई किवीको माग आउन थालेको छ। तर, उनले बजारमा भनेजस्तो किवी निर्यात गर्न नसकेको पनि बताउँदै योकसमका स्थानीयवासीहरूलाई आफैसँगै किवी खेतीमा जोडेर यो मागलाई पूरा गर्ने तर्खर गरेको बताए।

समुद्री तटदेखि ३००० फिटदेखि लिएर ६००० फिटसम्म किवी खेतीका निम्ति मौसम अनुकूल रहेकोले सिक्किमका अन्य प्रान्तमा पनि यो खेती गर्न सकिने र त्यसका निम्ति आफूले आवश्यक सहयोग पुर्‍याउने पनि उनले जानकारी दिए। किवी खेतीलाई पर्यटनसँग जोड्दै उनले घरमै होमस्टे पर्यटन पनि सुरु गरेको जानकारी दिँदै उनको किवी खेतीप्रति आकर्षित भएर धेरै पर्यटकहरू उनको होमस्टेमा आउने गरेका छन्।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *