सिक्किम राज्य सहकारी सङ्घद्वारा राज्यस्तरीय सहकारी प्रवर्द्धन तथा विकास सम्मेलन आयोजित, उत्कृष्ट सहकारी संस्थालाई पुरस्कृत गर्ने मुख्यमन्त्रीको घोषणा

पाकिम, २९ मार्च: सिक्किम राज्य सहकारी सङ्घ (SICUN)-को सम्मेलन हलमा आज सिक्किम राज्यमा सहकारी प्रवर्द्धन तथा विकाससम्बन्धी राज्यस्तरीय सम्मेलन सम्पन्न भयो। कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए।

कार्यक्रम राष्ट्रिय सहकारी सङ्घ भारत (NCUI), नयाँ दिल्लीले सिक्किम राज्य सहकारी सङ्घ (SICUN) र सिक्किम सरकारको सहकारी विभागको सहकार्यमा आयोजना गरेको थियो।

मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा सहकारी आन्दोलनलाई भारतको आर्थिक भविष्यका लागि महत्वपूर्ण बताउँदै यसले ग्रामीण क्षेत्रमा समावेशिता र आर्थिक स्थायित्व वृद्धि गर्न सक्ने उल्लेख गरे। उनले प्रधानमन्त्रीको “विकसित भारत २०४७” र “राष्ट्रिय सहकारी नीति २०२५” को परिकल्पना विषयमा साझा गर्दै यसले सहकारी क्षेत्रको विकासलाई प्रवर्द्धन गर्ने तथा ग्रामीण आर्थिक वृद्धिमा योगदान पुर्‍याउने उद्देश्य राखेको बताए। महिला र युवाहरूलाई सहकारी क्षेत्रबाट आर्थिक रूपमा सशक्त बनाउन सरकार प्रतिबद्ध रहेको पनि उनले बताए।

मुख्यमन्त्रीले सिक्किम मिल्क युनियनको उदाहरण दिँदै सहकारी क्षेत्रको सफलताबारे प्रकाश पारे। उनले सिक्किमभरिका उत्कृष्ट सहकारी संस्थाहरुलाई क्रमशः १० लाख, ७ लाख, र ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने घोषणा गरे। यसअघि, सिकनको ई-कमर्स पोर्टलको उद्घाटन गर्दै विभिन्न सहकारी संस्थाहरूले प्रदर्शनीमा राखेका उत्पादनहरूको पनि उनले अवलोकन गरे।

कार्यक्रममा ग्रामीण विकास तथा सहकारी विभागका मन्त्री अरुणकुमार उप्रेतीले “सहकार से समृद्धि” अवधारणालाई जोड दिँदै सहकारी संस्थाहरूको कार्यक्षमता, उत्पादनशीलता र नाफालाई अभिवृद्धि गर्न यसले महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे। उनले एनसीयूआईद्वारा प्रदान गरिने क्षमता अभिवृद्धि तालिम र सहकारी शिक्षा कार्यक्रमबारे पनि प्रकाश पारे।

एनसीयूआईका अध्यक्ष दिलीप संघानीले सहकारी आन्दोलनलाई प्रवर्द्धन गर्दै सहकारी शिक्षाको महत्वबारे जानकारी गराए। उनले ग्रामीण क्षेत्रमा सहकारी गतिविधिलाई थप सशक्त पार्न आवश्यक उपायहरू अवलम्बन गर्न अनुरोध गर्दै राज्यमा सहकारी क्रान्ति ल्याउन एनसीयूआईले आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन पनि दिए।

सिकनका अध्यक्ष डा मङ्गलजित राईले सहकारी आन्दोलनलाई सुदृढ बनाउन आवश्यक पहल र चुनौतीहरूको चर्चा गर्दै सङ्घले सहकारी अभियानलाई थप सशक्त बनाउन निरन्तर कार्य गर्ने बताए।

एनसीयूआईका प्रमुख कार्यकारी अधिकारी डा सुधीर महाजनले सहकारी संस्थालाई अझ सशक्त बनाउन विभिन्न उपायबारे जानकारी गराए। उनले सिक्किमको जैविक उत्पादनलाई प्रवर्द्धन गर्न जैविक कृषि, इको-पर्यटन, सुगन्धित बिरुवाजस्ता क्षेत्रमा सहकारी संस्थाहरूले ध्यान दिनुपर्ने उल्लेख गरे।

अन्तर्राष्ट्रिय सहकारी महासङ्घ एसिया-प्रशान्त (ICA-AP) का अध्यक्ष डा चन्द्रपाल सिंह यादवले सहकारी क्षेत्रमा महिलाहरू र प्रगतिशील कृष्कहरूलाई सशक्त बनाउन सहकारी संस्थाहरू महत्त्वपूर्ण बनेको उल्लेख गरे। उनले भारतको पहिलो सहकारी विश्वविद्यालय “त्रिभुवन सहकारी विश्वविद्यालय” स्थापनाबारे जानकारी गराउँदै यसले दुग्ध, मत्स्यपालन तथा बैंकिङ सहकारी संस्थाहरूलाई सशक्त बनाउने बताए।

सहकारी विभागका सचिव ग्लोरिया नाम्चुले आईवाईसी-२५ (IYC-25) सम्बन्धी एउटा प्रस्तुति दिँदै विभागद्वारा गरिएका विभिन्न कार्यहरूको जानकारी गराइन्। कार्यक्रममा एकदिने राज्यस्तरीय युवा कार्यशालाका (Cooperative Olympiad) विजेताहरूलाई सम्मान गरियो भने एनसीयूआईद्वारा सञ्चालित प्राविधिक सत्र पनि सम्पन्न भयो।

कार्यक्रममा सिक्किम विधानसभाकी उपाध्यक्ष, मुख्यमन्त्रीका राजनीतिक सचिव, मन्त्रीगण, विधायकगण, सल्लाहकारगण, विभिन्न विभागीय प्रमुखहरू, कार्यालय प्रमुखहरू, विभिन्न शीर्ष संस्थाका अतिथिहरू, सहकारी संस्थाका पदाधिकारी तथा अन्य अधिकारीहरू उपस्थित थिए।

आईपीआरबाट प्राप्त रिपोर्टसहित

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *