गान्तोक, १२ फरवरी: सोमबार बसेको दसौँ सिक्किम विधानसभाको सातौँ सत्र (भाग ३)-मा सिक्किम सरकारका शिक्षा विभागका मन्त्री कुङ्गा निमा लेप्चाले सातवटा नयाँ निजी विश्वविद्यालय विधेयकहरू पेश गरेका छन्। मन्त्री लेप्चाले अर्किड युनिभर्सिटी विधेयक, गुरुकुल विद्यापिठ विश्वविद्यालय विधेयक, म्याट्रिक्स स्किलटेक युनिभर्सिटी, सिक्किम विधेयक, ड्युक इन्टरनेशनल युनिभर्सिटी विधेयक, सिक्किम मेडिकल साइन्स युनिभर्सिटी विधेयक, म्यानेजमेन्ट एन्ड इन्फर्मेसन टेक्नोलोजी युनिभर्सिटी विधेयक र श्री रुक्मणी द्वारकाधीश युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी विधेयक सदनमा पेश गरेका हुन्।
शिक्षा विभागका प्रभारी मन्त्री कुङ्गा निमा लेप्चाले सोमबार सिक्किम विधानसभामा अर्किड युनिभर्सिटी विधेयक, २०२४ (२०२४-को विधेयक नम्बर ०६ ) पेश गरे। उक्त विधेयकको उद्देश्य तथा कारणको विवरणअनुसार, राज्य सरकारले पीस अफ ड्रीम फाउन्डेसनद्वारा प्रायोजित, ‘अर्किड विश्वविद्यालय’-को नाममा स्व-वित्तपोषित निजी विश्वविद्यालय मंगन जिल्लामा स्थापना गर्न वांछनीय ठानेको छ।
उक्त विश्वविद्यालय स्थापना गर्नुको उद्देश्य उच्च शिक्षा, सिकाइ, तालिम र अनुसन्धानका सबै क्षेत्रमा द्रुत विकास गर्नु, गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्नु साथै विश्वव्यापी सिद्धान्तहरूको अनुरुप विभिन्न विषयहरूमा डिग्री र डिप्लोमा प्रदान गर्नु रहेको बताइएको छ। यसबाहेक, मंगन जिल्लामा विश्वविद्यालयको स्थापनाले क्षेत्र र राज्यको समग्र विकासको लागि आवश्यक गति प्रदान गर्ने बताइएको छ।
यसरी नै मन्त्री कुङ्गा निमा लेप्चाले गुरुकुल विद्यापिठ विश्वविद्यालय विधेयक, २०२४ (२०२४ को विधेयक सङ्ख्या ०३) पनि सदनमा पेश गरे। यस विधेयकको उद्देश्य र कारणहरूको विवरणअनुसार, सोसाइटी रजिष्ट्रेसन ऐन, १८६० (१८६०-को अधिनियम सङ्ख्या २१)-अन्तर्गत दर्ता भएको सफ्टवेयर इन्जिनियर्स काउन्सिलले सिक्किम ‘गुरुकुल विद्यापिठ विश्वविद्यालय’ स्थापना गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित विश्वविद्यालय सफ्टवेयर इन्जिनियर्स काउन्सिलद्वारा पूर्णरूपमा वित्तपोषित हुनेछ भने यसको स्थापना मल्ली निर्वाचन क्षेत्रमा हुनेछ। प्रस्तावित विश्वविद्यालयका लागि जग्गा विभिन्न निजी जग्गाधनीबाट लिजमा लिने आश्वासन दिइएको छ। प्रस्तावित ‘गुरुकुल विद्यापिठ विश्वविद्यालय ऐन, २०२४’ प्रारम्भ भई जग्गा लिज दर्ता प्रक्रिया पूरा भएपछि क्याम्पसको निर्माण सुरु हुने बताइएको छ।
त्यसैगरी, म्याट्रिक्स स्किलटेक युनिभर्सिटी, सिक्किम विधेयक, २०२४ (२०२४-को विधेयक सङ्ख्या ०४) मन्त्री कुङ्गा निमा लेप्चाले सदनमा पेश गरे। यस विधेयकको उद्देश्य र कारणको विवरणअनुसार, भारतीय कम्पनी ऐन, २०१३ अन्तर्गत दर्ता भएको निजी कम्पनी मुमुक्षु च्यारिटेबल अर्गनाइजेसनले सिक्किम राज्यको गेजिङ जिल्लामा म्याट्रिक्स स्किलटेक विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव राखेको हो। प्रस्तावित विश्वविद्यालयले सिक्किमका युवाहरूका लागि आवश्यकता र सीपमा आधारित शिक्षा कार्यक्रमहरू प्रदान गर्ने र गुणस्तरीय पहुँच, अनुसन्धान र विस्तार गतिविधिहरू मार्फत सिक्किमेली जनताको बौद्धिक, समावेशी र दिगो विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
‘म्याट्रिक्स स्किलटेक युनिभर्सिटी’ एक स्व-वित्तपोषित निजी विश्वविद्यालय हुनेछ र यसले विश्वव्यापी सिद्धान्तअनुरूप गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वस्तरीय उच्च संस्थाको परिकल्पना गरेको छ भने उच्च शिक्षामार्फत समाजको समावेशी विकासमा योगदान पुर्याउने प्रयास गर्छ।
यसबाहेक, मन्त्री कुङ्गा निमा लेप्चाले ड्युक इन्टरनेशनल युनिभर्सिटी विधेयक, २०२४ (२०२४-को विधेयक सङ्ख्या ०५) पनि सदनमा पेश गरेका छन्। यस विधेयकको उद्देश्य र कारणहरूको विवरणअनुसार, राज्य सरकारले सिक्किम राज्यमा ड्युक इन्टरनेशनल युनिभर्सिटी स्थापना गर्नु वाञ्छनीय ठानेको छ। ज्ञानका सबै क्षेत्रमा, विशेषगरी सीप विकासमा द्रुत विकासको गतिलाई निरन्तरता दिनका लागि उक्त विश्वविद्यालयको स्थापना आवश्यक ठानेको बताइएको छ। विश्वको उदारीकृत आर्थिक र सामाजिक व्यवस्थासँग मिल्दो जनशक्ति बनाउन युवाहरूलाई अत्याधुनिक शैक्षिक र सीप विकासको सुविधा उपलब्ध गराउन राज्यमा विश्वस्तरको आधुनिक अनुसन्धान र अध्ययन सुविधा सिर्जना गर्नु आवश्यक रहेको बताइएको छ।
प्रस्तावित विश्वविद्यालय भारतीय ट्रस्ट अधिनियम, १८८२-अन्तर्गत दर्ता भएको नव्य स्माइल फाउन्डेशन, गाजियाबादद्वारा वित्तपोषित हुनेछ। प्रस्तावित विश्वविद्यालयका लागि जग्गा लिजमा लिइनेछ । प्रस्तावित ‘ड्युक इन्टरनेशनल युनिभर्सिटी ऐन’ प्रारम्भ भई जग्गा लिज दर्ता प्रक्रिया पूरा भएपछि क्याम्पसको निर्माण सुरु हुनेछ ।
यसरी नै मन्त्री कुङ्गा निमा लेप्चाले सिक्किम मेडिकल साइन्स युनिभर्सिटी विधेयक, २०२४ (२०२४-को विधेयक सङ्ख्या ०२) सदनमा पेश गरे। यस विधेयकको उद्देश्य र कारणहरूको विवरणअनुसार, भारतीय ट्रस्ट ऐन १८८२-अन्तर्गत दर्ता भएको ड्रीम एजुकेशनल च्यारिटेबल ट्रस्ट नामक निजी ट्रस्टले नाम्ची जिल्लामा ‘सिकिम मेडिकल साइन्स युनिभर्सिटी’ स्थापना गर्ने प्रस्ताव राखेको छ। चिकित्सा शिक्षा पूरा गर्ने लक्ष्य राखेको प्रस्तावित विश्वविद्यालय ड्रीम एजुकेशनल च्यारिटेबल ट्रस्टद्वारा पूर्णरूपमा स्व-वित्तपोषित निजी विश्वविद्यालय हुनेछ।
प्रस्तावित विश्वविद्यालय चिकित्सा, प्यारा-मेडिकल, सम्बद्ध स्वास्थ्य सेवा र अन्य सम्बन्धित क्षेत्रहरूमा स्नातक तहदेखि स्नातकोत्तर कार्यक्रम, डाक्टरल कार्यक्रमहरू र अनुसन्धान तहसम्म विस्तारित शिक्षाको एकीकृत प्रणाली प्रदान गर्नमा केन्द्रित रहने बताइएको छ। प्रस्तावित विश्वविद्यालयको अनुसन्धान र प्रशिक्षण पहलले विशेषगरी ओन्कोलोजी र अन्य क्षेत्रहरूमा काम गर्ने, सिक्किमको स्वास्थ्य सेवाको इको-सिस्टमलाई उन्नत चिकित्सा उपचारहरूमा पहुँच प्रदान गर्ने, साथै सिक्किमका जनताका लागि समग्र स्वास्थ्य सेवा स्तरहरू माथि उठाउनमा योगदान दिने बताइएको छ।
यसरी नै मन्त्री कुङ्गा निमा लेप्चाले ‘म्यानेजमेन्ट एन्ड इन्फर्मेसन टेक्नोलोजी युनिभर्सिटी विधेयक २०२४’ (२०२४-को विधेयक सङ्ख्या ११) पनि सदनमा पेश गरे। यस विधेयकको उद्देश्य र कारणहरूको विवरणमा भनिएको छ कि राज्य सरकारले सिक्किम राज्यमा “एमआईटी विश्वविद्यालय” को नामले स्व-वित्तपोषित निजी विश्वविद्यालय स्थापना गर्न उचित ठानेको छ। प्रस्तावित विश्वविद्यालय इन्स्टिच्युट अफ म्यानेजमेन्ट एन्ड टेक्निकल स्टडिज (IMTS)-द्वारा पूर्णरूपमा वित्तपोषित/प्रायोजित हुनेछ भने यसको स्थापना मल्ली निर्वाचन क्षेत्रमा हुनेछ।
यो राज्य निजी विश्वविद्यालय शिक्षाको एक एकीकृत प्रणाली प्रदानमा केन्द्रित रहने बताइएको छ। यो विश्वविद्यालय स्नातक स्तरदेखि उच्च शिक्षा र अनुसन्धान स्तरसम्म विस्तार रहनेछ। यसमा सूचना र प्रविधि, जन सञ्चार र पत्रकारिता, ईन्जिनियरिङ्, प्यारा चिकित्सा विज्ञान, पर्यावरण विज्ञान, सामाजिक विज्ञान, कला र मानविकी, वाणिज्य, आधारभूत र व्यावहारिक विज्ञान, सम्बद्ध स्वास्थ्य विज्ञान, फेसन र कपडा, अग्नि सुरक्षा र विपद् व्यवस्थापन, योग शिक्षा, खाद्य पोषण र मधुमेह, फार्मेसी, व्यवस्थापन, प्रविधि, शिक्षा, कानून, कृषि, आदिको शिक्षा प्रदान गर्ने बताइएको छ।
यसरी नै मन्त्री कुङ्गा निमा लेप्चाले सदनमा ‘श्री रुक्मणी द्वारकाधीश युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी विधेयक २०२४, (२०२४-को विधेयक सङ्ख्या १२) पनि पेश गरे। विधेयकको उद्देश्य र कारणहरूको विवरणमा भनिएको छ कि लुधियाना पञ्जाबमा आधारित एउटा गैरलाभकारी कम्पनी मनुडियाज एजुकेशन फाउन्डेशनले सिक्किममा स्व-वित्तपोषित उक्त निजी विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव राखेको हो। प्रस्तावित विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, सांस्कृतिक सम्पदा संरक्षण र दिगो नवाचारको प्रमुख केन्द्र बन्ने लक्ष्य राखेको छ।
विधानसभा अध्यक्षले घोषणा गरेअनुसार आज सदनमा पेश गरिएका सबै विधेयकहरूमा छलफल र मतदान विधानसभाको अर्को बैठकमा हुनेछ।