खेतीयोग्य बाँझो जमिनलाई उत्पादनशील बनाउने अभियानमा पाकिम जिल्ला; बाँझो जमिन खन्दै सरकारी कर्मचारी

पाकिम, ३ सेप्टेम्बर: “जमिनदारहरूसँग हामी खुसी छैनौँ। हामीले कोसिस गर्‍यौँ। तर मेरो जमिन बाँझो छ त, सरकार र विभागलाई के खाँचो पर्‍यो भन्नुभयो। समय आउँछ, सिक्किममा जमिनका लागि कानुन बन्नुपर्छ। जसले पाखुरा चलाउँछ, उसले त्यो बाँझो जमिनबाट राष्ट्रका लागि अन्न उत्पादन गर्न पाउनुपर्छ। अन्न उत्पादन गर्नु भनेको आफ्नो भुँडी मात्रै भर्नु होइन। जमिन धेरै हुनेहरूले मेरोमा खेती गर्नु आवश्यक छैन, कसैले अतिक्रमण नगर्नु भन्छन्, यो ठीक होइन।” ‘फ्राइडे फिल्ड डे’ अभियान सुरु गरेर जिल्लाका प्रत्येक खेतीयोग्य बाँझो जमिनलाई उत्पादनशील बनाउने अभियानमा लागि परेका पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल रविनप्रसाद सेवाले यस अभियानमा धेरै जमिन भएका मानिसहरूले सहयोग नगरेको गुनासो गर्दै उक्त कुरा बताएका हुन्।

सरकारी नोकरी नै गर्नुपर्छ भन्ने मानसिकताबाट गहिरो रूपमा प्रभावित बनेको सिक्किमेली समाजमा रविन सेवाले एउटा नौलो अभियानलाई नेतृत्व गरिरहेका छन्। कुनै समय धानको देश भनेर चिनिने सिक्किमका धेरै खेतीयोग्य जमिन अहिले बाँझो बन्दै गइरहेका छन्। मानिसहरू कृषिबाट पलायन भइरहेका छन्। यस्तो जटिल समयमा बाँझो जमिनलाई उत्पादनशील कृषि भूमिमा परिणत गराउने प्रमुख उद्देश्यका साथ ‘फ्राइडे फिल्ड डे’ अभियान लिएर अघि आएका छन् पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल रविन सेवा। उनले यो अभियानलाई साझा अभियान बनाएका छन्। उनले यो अभियान आफ्नै कार्यलय परिसरबाट सुरु गरेका छन्। अहिले उनको कार्यालय वरिपरि धेरै खेती गरिएको छ।

 

सिक्किम सरकारले एक परिवार एक नोकरी र अन्य कल्याणकारी योजनाअन्तर्गत राज्यका धेरै युवाहरूलाई सरकारी नोकरी दिएको छ। यसैको फलस्वरूप सरकारका विभिन्न विभागका प्रमुख कार्यलयहरूदेखि लिएर ग्रामीण क्षेत्रका सबै सरकारी कार्यलय र विद्यालयहरूमा अहिले प्रयाप्त जनशक्ति पुगेका छन्। ग्रामीण क्षेत्रका सरकारी कार्यलयका कर्मचारीहरू अब बाँझो जमिनलाई उत्पादनशील बनाउनतिर लाग्नुपर्छ भन्ने उद्देश्य राखेर पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल कार्यलयले प्रत्येक हप्ताको शुक्रबार र शनिबार बाँझो जमिनमा खेती गर्ने अभियान थालेको छ। यसै अभियानअन्तर्गत यस वर्ष पाँच हप्ताको अन्तरालमा १३ ऐकरभन्दा अधिक खेतीयोग्य बाँझो जमिनलाई उत्पादनशील जमिनमा परिणत गरिसकेको रविन सेवाले जानकारी गराएका छन्। यस अभियानमा ग्राम विकास विभाग, कृषि, बागबानी, पशुधन, सहकारीलगायत अन्य सम्बन्धित विभागले पनि सहयोग गरिरहेको उनले बताएका छन्। यस अभियानलाई जिल्लापालदेखि लिएर ग्राम पञ्चायत र सबै सरकारी कर्मचारीहरूको सहयोग र समर्थन प्राप्त भइरहेको पनि सेवाले बताए। यो अभियान अहिले एउटा सामुहिक अभियान बन्न पुगेको छ।

यस अभियानमा धेरै जमिन भएका वा केही जमिनदारहरू भने सहयोगी नबनेको रविन सेवाले गुनासो पोखेका छन्। पाखुरा चलाउनेले राष्ट्रका लागि अन्न उत्पादन गर्न पाउनुपर्छ भन्दै सिक्किममा पनि जमिन सम्बन्धि ठोस कानुन बनिन्छ भन्ने आशा पनि उनले पोखेका छन्। केही वर्षभित्रमै जिल्लाका सबै खेतीयोग्य बाँझो जमिनलाई उत्पादनशील बनाउने उनको लक्ष्य रहेको छ। यस अभियानमा सबैभन्दा धेरै कोदो खेतीलाई प्राथमिकता दिएको पनि उनले बताएका छन्। 

कुनै पनि खेतीयोग्य जमिन बाँझो नरहोस् भन्ने उद्देश्य रखेर यो अभियान थालिएको हो। आफ्नो जमिनलाई बाँझो नराखेर खेती गरिरहेका मानिसहरूलाई सरकारी सहुलियतमा पनि प्राथमिकता दिने रविन सेवाले बताएका छन्।

पाकिम जिल्लाबाट सुरु भएको यस अभियानलाई राज्यभरी विस्तार गर्न सकिएमा सिक्किमले जैविक राज्यको रूपमा कमाएको नामलाई अझ उचाइमा पुर्‍याउन सकिने सम्भावना देखिएको छ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *