नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङ‌मा नेपाली भाषा मान्यता दिवस पालन

गान्तोक, ३ सेप्टेम्बर: नेपाली भाषाले संवैधानिक मान्यता पाएयता यसको सही महत्त्व यसपटक सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बुझाउन सकेको मन्तव्य पद्मश्री सम्मानद्वारा विभूषित सानु लामाले व्यक्त राखेका छन्। उनले नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङ‌को नेपाली विभागद्वारा आयोजित ३३औँ नेपाली भाषा मान्यता दिवसमा मुख्य अतिथिको सम्बोधन राख्ने क्रममा यसो भनेका हुन्।

यस वर्ष ३० अगस्टका दिन सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कलेजको नेपाली विभागका पहिलो शिक्षक रुद्र पौड्‌याल, विभागकी पहिलो शिक्षिका प्रो डा पुष्प शर्मा, डा शोभाकान्ति थेगिम (लेप्चा) मेमोरियल ट्रस्टका अध्यक्ष तथा वर्ष २०२४ का भानु पुरस्कारद्वारा सम्मानित डुपछिरिङ लेप्चा, शिक्षा विभाग, सिक्किम सरकारका विशेष सचिव तथा उच्च एवम् प्राविधिक शिक्षाका निदेशक भीम ठटाल तथा भारतीय नेपाली राष्ट्रिय परिषद्‌का सदस्य चन्द्र दुलाल रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सानु लामाले नेपाली भाषा मान्यता आन्दोलनको ऐतिहासिक कैरन प्रस्तुत गरे। यस क्रममा उनले आन्दोलनमा सक्रिय व्यक्तित्वहरूको सम्झना र सह‌भागिताको प्रशंसा गरे। सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारी र तत्कालीन लोकसभा सांसद दिलकुमारी भाण्डारीको नेतृत्व क्षमता र कार्यशैलीले नेपाली भाषा मान्यता आन्दोलनलाई फत्ते गरेर छोडेको प्रसङ्‌ग पनि निकाले। भण्डारीले कुनै पनि कार्यालयका सानाभन्दा साना कर्मचारीबाट निवेदन थालेर ठूला अधिकारीसम्म पुग्ने कार्यशैलीबाट सबैजसो केन्द्र सरकारका कर्मचारीहरू अभिभूत भएको बताए।

कार्यक्रममा स्रोत वक्ताका रूपमा उपस्थित भीम ठटालले नेपाली भाषा मान्यताको आन्दोलनमा स-साना सङ्‌घ संस्थाहरूको भूमिकाबारे उपस्थित भेलालाई अवगत गराए। यसै गरी भारतको संविधानले भाषाबारे जुन लचिलोपनको प्रावधान प्रदान गरेको छ, त्यसमा लोकतन्त्रको सुन्दरता रहेको बताए। विभिन्न समयका शिक्षा नीतिहरूबारे तुलनात्मक चर्चा गर्दै नयाँ शिक्षा नीति २०२४ विद्यार्थीहरूका लागि मातृ‌भाषाको महत्त्व वीजारोपणमा अहम् भूमिका निर्वाह गर्ने बताए। उनले सिक्किमका मुख्यमन्त्रीले गरेको घोषणाले भाषा मान्यताको महत्त्वलाई थप बल दिएका बताउँदै सिक्किमले यस सम्बन्धमा थप ऊर्जा र उत्तरदायित्वसहित काम गर्नुपर्ने बताए।

कलेजका प्राचार्य डा देवव्रत पुरोहितले आफ्नो सम्बोधनमा आफू केही अन्य भाषा बोल्न सक्ने भए तापनि नेपाली भाषाको मिठासले जहिल्यै मोहित बनेको बताए र आफ्नो मातृ‌भाषाले अभिव्यक्त गर्नसक्ने जति अभिप्राय छन् ती अरू भाषाले अभिव्यक्त गर्न नसक्ने विचार राखे।

कार्यक्रमका अवसरमा नेपाली सम्मान पाँचौँ सत्रका विद्यार्थीद्वारा सम्पादित विभागको भित्ते पत्रिका ‘कोपिला’-को वर्ष ८ अङ्‌क १-को पनि अतिथिगणद्वारा विधिवत अनावरण गरियो। कार्यक्रममा विद्यार्थीहरू पूजा छेत्री, मेघना ढकाल, रोहन राई, प्रकाश भट्टराई, प्रतीक्षा शर्माले कविता वाचन गरे भने हेमा मालेले एकल नृत्य प्रस्तुत गरिन्। यसै गरी मित्रलाल दुलाल, एभिल सुनार, विवेक प्रधान, रुसाली गुरुङ, रीता छेत्री, प्रिसिला राई, र सन्ध्या छेत्री, अमिषा नेपाल, नुर्जुला बराहली, सुभद्रा शर्मा र पूजा छेत्रीले सामूहिक नृत्य प्रस्तुत गरे।

कार्यक्रममा नेपाली भाषा मान्यता आन्दोलनमा भारतीय नेपाली राष्ट्रिय परिषद्‌सँग संलग्न व्यक्तित्व चन्द्र दुलाललाई सम्मान जनाइ‌यो भने वर्ष २०२४-का भानु पुरस्कारद्वारा सम्मानित डुपछिरिङ लेप्चालाई पनि अभिनन्दन गरियो। नेपाली भाषा मान्यता दिवसको छेक पारेर आयोजित निबन्ध लेखन प्रतियोगितामा पहिलो सत्रका अनुप शर्मा, तेस्रो सत्रका आकाश राई अनि पाँचौँ सत्रकी अञ्जना छेत्री विजयी बने।

परिचय

One thought on “नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङ‌मा नेपाली भाषा मान्यता दिवस पालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *